नेपाल–भारत सम्बन्ध र ‘बाबा डिप्लोमेसी’

Posted:: (3 years ago) | November 28, 2016| 498 views

बसन्त शर्मा

नेपाल–भारत संबन्धलाई अखण्ड राख्नु पर्ने धारणा राख्दै भारतीय योग गुरु बाबा रामदेवले नेपालमा भइरहेको हिमाल, पहाड र तराई–मधेशको राजनीतिक विवादलाई जति सक्दो चाँडो टुङ्ग्याएर आर्थिक समृद्धतर्फ अघि बढनुपर्ने भन्दै आफुले योगमार्फत दुइ देशलाई फेरी जोडेर फर्किने बताउनु आाफैमा दुई देशबीचको विग्रेको संबन्ध सुधारको प्रयासका रुपमा ‘बाबा डिप्लोमेसी’ भन्न सकिन्छ ।

पश्चिमा मुलुकमा गल्फ डिप्लोमेसी, भारत–पाकिस्तानबीच क्रिकेट डिप्लोमेसी प्रयोग हुने पुरानो परम्परा अन्तरगत चलिआएको विषय हो । वि.सं. २००७ साल यता अहिले सम्मकै नेपाल–भारत संबन्ध कमजोर अवस्थामा पुगेकाले भारत खासगरी दक्षिण एशियामा आफ्नो प्रभाव खस्केको महसुश गर्दै नेपालमा संविधान जारी हुँदा विदेश सचिव एस.जय शंकरको भ्रमण हुँदै नाकाबन्दी देखि विग्रेको संबन्ध सुधारको प्रयासमा रहेकोछ । यसले भारत आफ्नो प्रभाव नेपालमा गुमाउन चाहँदैन भन्ने स्पष्ट  हुन्छ । यता नेपालले पनि विग्रेको सम्बन्ध सुधारकालागि प्रयास गर्नु उत्तिकै आवश्यक छ ।

नयाँ दिल्लीमा साउथ ब्लकले बाबा रामदेबको नेपाल भ्रमणलाई निकै महत्वकासाथ हेरीरहेकाछन् । उनीहरु स्वयं कतिपय विषयमा बाबाहरुले गरेका कुराहरुमा सरकारी अधिकारीहरुभन्दा विश्वशनियता समेत रहने विश्वास राख्दछन् । विषेशगरी इन्टेलिजेन्स र कुटनीतिज्ञबाट भन्दा सहि रिर्पोट यस्ता आध्यात्मिक गुरुहरुबाट आउन सक्ने अपेक्षा राख्दछन, कतिपटक त्यो प्रमाणीत पनि भइसकेकाले साउथ ब्लक बाबा रामदेवबाट सम्बन्ध सुधारको अपेक्षामा छ । अझंैं भन्नुपर्दा प्रधानमन्त्री नरेन्द्र मोदी बढी आस्वस्त रहेको अनौपचारीक भेटमा उनी निकट श्रोतहरु बताउँदछन् ।

नेपाल–भारत सम्बन्ध अहिले मात्रै होइन विगतमा पनि तनावग्रस्त रह्यो । जस्तो कि पण्डित जवाहरलाल नेहरुको नेपालप्रतिको ‘ओभरलर्डसिप’ नीतिका कारण दुई देशबीचको सम्बन्धमा असमझदारी मात्रै बढेन भारतको कुटनीति पुरै असफल भएको कुरा भारतका पूर्व विदेश सचिव जगत मेहताको जीवनी सन् २०१०मा उल्लेख गरीएको पाइन्छ । त्यसैगरी तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धिले ‘नेपालका शासक वर्गलाई विश्वास गर्न सकिंदैन’ (स्मरणग्रन्थ २०१६,महाराजा कृष्ण रसगोत्रा ) भन्ने भनाईले पनि त्यतिबेलादेखि नै नेपाल–भारत संबन्ध कमजोर बनाएको उदाहरणहरु नभएका पनि होइनन् ।

एकातर्फ संसारमै अलौकिक मानिने खुल्ला सिमा सहितको दुई देशको अन्तरनिहित अनि रोटी बेटीको आत्मीय सम्बन्धमा पटक पटक ह्रास आउने विभिन्न कारणहरु होलान् तर राजनीतिक मुद्दा सरकार परिवर्तनमा गएर अड्किन्छ । दुई देशबीच भएका विभिन्न सन्धि सम्झौताको अक्षरसः पालन हुन नसक्दा अनि सिमामा हुने विवादले गर्दा पनि सम्बन्धमा चिसोपन दोहोरीरहन्छन् । कहिलेकाहीं चीन र भारतका निर्णयहरुले पनि सम्बन्धमा चीसोपन ल्याउने गरेका छन् । उदाहरणकालागि लिपुलेकको विषय ।

नेपालमा खासगरी शासन व्यवस्था परिवर्तनको आन्दोलनमा कहीं न कहीं भारतीय भूमिका रहिआएकाले भारत त्यसको जस लिन पनि आतुर हुने गरेका घट्नाहरु अब गोप्य रहेनन् । कहिलेकाहीं कुटनीतिज्ञहरुले गर्न नसकेका कामहरु भातीय धर्म गुरु अर्थात बाबाहरुले पनि गर्ने गर्दछन् । जो अघोषित दूत बनेर नेपाल आउने गर्दछन् । कुनैबेला श्री श्री रविशंकरले पनि त्यो भूमिका न निभाएका होइनन् । कुनै विशेषखाले कामकालागि पायलट बाबाको सक्रियता पनि उत्तिकै रहेको स्मरण गराउन चाहन्छु । पूर्वीय दर्शनमा विश्वास गर्ने आध्यात्मीक गुरुहरु पनि पश्चिमा मूलुकका पोप र पादरीहरु जस्तै निर्णायक भूमिकामा परिस्थिति हेरेर अगाडी आउन खोजेको देखिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले जसरी आफ्नो कार्यकालको सपथ ग्रहण गर्न लाग्दा सार्क देशका सरकार प्रमुखहरुलाई बोलाएर आफ्नो क्षेत्रीय नीति र शक्ति सन्तुलनलाई प्राथमिकतामा राखे, त्यसको निरन्तरताकालगी कुटनीतिका विभिन्न आयामहरुलाई प्रयोग गर्न खोजेको देखिन्छ । मुख्यतया  सम्बन्ध कमजोर भएका मुलुकहरुको हकमा । त्यसका अलावा बाबा रामदेवको आफ्नै मिसन पनि नभएका होइनन, नेपाल भ्रमणका । प्राचिन भारतवर्ष भरी आफ्नो प्रभुत्व देखाउन योग गुरु बाबा रामदेवले गरीरहेको प्रयासका आधारमा के भन्न सकिन्छ भने आध्यात्मीक दर्शनका आधारमा राजनीति र अर्थतन्त्रलाई जोड्न खोजेको देखिन्छ ।

बाबा रामदेवले जसरी पतञ्जलिको लगानीले नेपालमा रोजागारी र आयुर्वेदलाई टेवा पुग्ने बताउँदै गर्दा उनले गर्न खोजेको सकारात्मक काममा सबै नेपालीले पनि साथ दिन जरुरी छ । उनले भनेको पतञ्जलिको व्यवसायबाट आएको मुनाफा भारत नल्याउने कुरा आँफैमा सकारात्मक पक्ष भएकाले हरेक विषयलाई राजनीतिकरण गरीहाल्नु उपयुक्त पनि हुँदैन ।

बाबा रामदेव पछिल्लो पटक नेपाल जाँदा भूकम्प आएकाले त्यो भ्रमण उति फलदायी हुन नसकेपनि यस पटकको नेपाल बसाँइले योग र राजनीति दुवै पक्षलाई जोडेर जान सके दिर्घकालिन रुपमा यसको फाइदा नेपालले उठाउन सक्ने देखिन्छ ।

बाबा रामदेवले राष्टपति र प्रधानमन्त्री दुवैलाई आफ्नो कार्यक्रममा सहभागि गराएर केही डिप्लोमेटिक र केही राजनीतिक काम गनि फत्ते गरेका कुरालाई हामी नजरअन्दाज भने गर्न सक्दैनौं ।

यसरी विग्रंदो अवस्थामा रहेको नेपाल–भारत संबन्धलाई बाबा रामदेव वा कसैको पनि मध्यस्थताले सहज र सौहाद्र बनाउँछ भने हामी कसैलाई त्यति ठुलो आपत्ति हुनुहुँदैन ।
बिट मार्नु अघि नेपाल–भारत सम्बन्ध जति सुमधुर र सम्मानजनक रुपमा अघि बढ्छ दुवै देशको हितमा हुनेछ । अन्यथा विभिन्न शक्ति केन्द्रहरुको क्रीडास्थल नेपाल बन्नेछ र नेपाल–भारत दुवैले त्यसको नोक्सानी व्यहोर्नुपर्नेछ  ।

प्रतिक्रिया दिनुहोस

About Prabhat Devkota

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*