निजामती सेवाप्रति किन खस्किँदै छ जनविश्वास ?

Posted:: (3 years ago) | January 18, 2017| 560 views

बाबुराम पौडेल

निजामती सेवा सरकारलाई जनता समक्ष र्पुयाउने माध्यम हो । जनस्तरमा काम गर्ने भएकोले यसलाई स्थायी सरकार तथा स्थायी कार्यकारिणी पनि भनिन्छ । प्रचलित कानूनको पालना गर्दै सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । त्यसैले भन्ने गरिन्छ, कुनै पनि देशको निजामती सेवाभन्दा त्यहाँको सरकार राम्रो हुनै सक्दैन ।

पछिल्लो समय भने निजामती सेवा यसका विद्यमान आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित हुँदा यसप्रतिको जनविश्वास घट्दै गएको छ । बदलिँदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई ढाल्न नसक्दा जनविश्वास गुमाउँदै गएको हो । बढ्दो भ्रष्टाचार, राजनीतिकरण, प्रतिक्रियामुखी कार्यशैली, ढिलासुस्ती तथा नातावाद÷कृपावादले जनताको विश्वासलाई अझै कमजोर बनाएको छ । सेवा प्रवाहमा रहेको झन्झट, विकास प्रक्रियामा रहेको ढिलासुस्ती, भौगोलिक विकटता, अशिक्षा र पछौटेपन, सेवाग्राहीप्रतिको असहज व्यवहारका कारण जनसम्बन्ध राम्रो हुन सकेको छैन । प्रक्रियामुखी कार्यशैली, क्लिष्ट कानून र कानूनको निरन्तर परिवर्तन र तथा वर्ष(वर्षमा सरकारपिच्छेका परिवर्तित नीति पनि जनविश्वास घटाउने कारक बनेका छन् ।

निजामती सेवाप्रतिको जनविश्वास कमजोर हुनुको प्रमुख कारणमध्ये राजनीतिक अस्थिरताले सिर्जना गरेको नीतिगत अस्थिरता पनि हो । त्यस्तै, अस्पष्ट कानून जनताले सजिलै नबुझ्दा यसले समस्या सिर्जना गरेको छ । कर्मचारीले कानूनको आफ्नो हित अनुकूल प्रयोग गर्दा जनअपेक्षा सम्बोधन हुन सकेको छैन । व्यावसायिकताको कमीले कर्मचारीले जनअपेक्षा बमोजिम कार्यसम्पादन गर्न नसक्दा सरकारी सेवाप्रति सेवाग्राहीको विश्वास कमजोर भएको हो । जनताले सामान्य कामका लागि पनि धेरै प्रक्रिया अपनाउनुपर्ने तथा कर्मचारीको काम पन्छाउने प्रवृत्ति यसको कारक रहेको छ । निजामती सेवाले समयानुकूल प्रविधि उपयोग गर्न नसक्दा सेवा छरितो र पारदर्शी हुन सकेको छैन ।एउटै कर्मचारी विभिन्न पदमा पदेन विज्ञ बन्नुपर्दा सेवाको गुणस्तर खस्किएको छ । कर्मचारीको आकर्षक कार्यालयमा जाने चाहना र छिटोछिटो हुने सरुवाले पनि सेवा प्रवाहलाई प्रभावित बनाएको छ ।

अर्का्तिर, कर्मचारी निरुत्साहित हुने अवस्थाले पनि निजामती सेवाको प्रभाव खस्काएको छ । कर्मचारीको कार्यसम्पादनको स्तर उनीहरुको उत्प्रेरणा र मनोबलको स्तरमा निर्भर रहन्छ ।निजामती सेवाको न्यून तलबभत्ता, अपारदर्शी वृत्ति प्रणाली लगायत कारणले कर्मचारीले आफ्नो जागिरको सोझो गर्न हाकिम तथा राजनीतिक दलका नेताको चाकडी गर्ने गलत प्रवृत्तिको विकास गराएको छ । यी कारणले कर्मचारीको मनोबल कमजोर बनेको छ । निजामती कर्मचारीको भन्दा उही तहमा निजी क्षेत्रमा काम गर्ने कर्मचारीको सेवा(सुविधा बढी हुनुले पनि कर्मचारी कामप्रति उत्प्रेरित छैनन् । यसले गर्दा उनीहरुले प्रवाह गर्ने सेवा प्रभावकारी बन्न सकेको छैन ।

बढ्दो राजनीतिक हस्तक्षेपले कर्मचारीमा कामप्रतिको उत्साह जाँगर कमजोर बनाएको छ । अत्यधिक राजनीतिकरण र टे्रड युनियनको कार्यशैली तथा कर्मचारीलाई कानून बमोजिम काम गर्नबाट राजनीतिक दलहरुबाट अवरोध गरिँदा जनविश्वास घटेको छ । कर्मचारीलाई दलका प्रतिनिधि बनाउने प्रयत्न भएको छ । सरकार परिवर्तन हुनेबित्तिकै कर्मचारीको सरुवाको लहड यसको उदाहरण हो । कर्मचारीको बहुउत्तरदायित्वले पनि सेवाग्राही र सेवा प्रदायकबीचको सम्बन्ध धमिलिएको छ । सेवाग्राहीमा रहेको अशिक्षा र अनभिज्ञता पनि सेवाप्रतिको अविश्वास बढाउने कारक तत्व बनेका छन् । सेवा प्राप्त गर्नका लागि गर्नुपर्ने प्रक्रिया, कागजात सेवा दिने अधिकाी, गुनासो सुन्ने अधिकारी र क्षतिपूर्ति सम्बन्धमा सेवाग्राहीलाई थाहा नहुँदा पनि समस्या सिर्जना भएको छ । यसका लागि सरकारले व्यवस्था गरेका नागरिक बडापत्र, उजुरी पेटिका, सार्वजनिक सुनुवाई, सूचना अधिकारी, गुनासो सुनुवाई लगायत प्रावधानहरुको समुचित उपयोग हुन सकेको छैन ।

शिक्षित व्यक्तिले पनि सेवा प्राप्त गर्ने तरिकाबारे ध्यान दिएको पाइँदैन । प्रक्रिया र्पुयाउनुभन्दा भनसुनका आधारमा काम गराउने प्रवृत्ति सेवाग्राहीमा मौलाएको पाइन्छ । नियम मिचेर दबावका आधारमा काम गराउँदा गर्व मान्ने हाम्रो संस्कार र प्रवृत्ति पनि सेवाग्राही – सेवा प्रदायक सम्बन्ध कमजोर बनाई सेवाप्रतिको जनविश्वास कमजोर बनाउन उद्यत देखिन्छ ।

सरकारले आवश्यकताका आधारमा सेवा प्रदान गर्ने संस्था र संगठनात्मक संरचना निर्माण र सेवाको नक्साङ्कन गर्न नसक्दा सेवा प्रवाह प्रभावकारी बन्न सकेको छैन । कामको चापका आधारमा दरबन्दी सिर्जना गर्ने परिपाटीको अभाव छ । देशको कठिन भौगोलिक अवस्था, सडक यातायात लगायतका पूर्वाधारको अभावमा सानो कामका लागि धेरै समय र पैसा खर्चिनुपर्ने बाध्यता छ ।

यसका साथै सेवा प्रदायकको व्यवहार सेवकको नभई शासकको जस्तो भएको कारण जनताले महसुस गर्ने गरी सेवा प्रवाह हुन सकेको छैन । कर्मचारीले असल नियतले काम गर्दा पनि फस्ने अवस्थाले पनि खुलेर काम गर्न सकेका छैनन् । राज्यको जनतासँगको सम्बन्ध निजामती सेवामार्फत हुने गर्छ । यसको सबलीकरण, सुदृढीकरण र व्यावसायीकरण गरी उनीहरुको मनोबल उच्च बनाउनुपर्छ । राजनीति र प्रशासनको सम्बन्ध परिभाषित हुनुपर्छ । क्लिष्ट ऐन, नीति(नियमहरुको आवश्यक संशोधन र नीतिगत स्थिरता कायम गरिनुपर्छ । विद्यमान भद्दा र अव्यावहारिक संगठनात्मक संरचना पुनर्गठन गरी चुस्त बनाउनुपर्छ ।यस्तै, सर्भिस म्यापिङ गरी आवश्यकताका आधारमा संस्थागत र संगठनात्मक संरचना निर्माण गरिनुपर्छ ।

सार्वजनिक सेवाका नवीन मान्यताको अवलम्बन र विद्युतीय सरकार मार्फत सेवा प्रवाह छरितो, पारदर्शी र वस्तुनिष्ठ बनाउन सकिन्छ ।कर्मचारीको कार्यसम्पादनको स्तर बढाउन र उनीहरुको उत्प्रेरणा अभिवृद्धि गर्न कर्मचारीलाई पर्याप्त जीवन निर्वाहको आधार प्रदान गरिनुपर्छ । कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली तथा ३६० डिग्री मूल्याङ्कन प्रणाली लागू गर्ने तथा बहुउत्तरदायित्वलाई व्यवस्थित गरिनुपर्छ । यसका साथै वृत्ति प्रणालीलाई पारदर्शी, वस्तुनिष्ठ र अनुमानयोग्य बनाउँदै सरुवा÷बढुवाका निश्चित मापदण्ड बनाइनुपर्छ । सेवाको विशिष्टीकरण तथा कर्मचारीको क्षमता अभिवृद्धि मार्फत व्यावसायिकता अभिवृद्धि गर्न सके कर्मचारीको कार्यसम्पादन स्तर प्रभावकारी भई जनविश्वास बढ्न सक्छ ।विद्यमान राजनीतिक अस्थिरताले सिर्जना गरेका नीतिगत अस्थिरता हटाउँदै कानूनको सरलीकरण गरी त्यसमा जनताको पहुँच र विज्ञता बढाइनुपर्छ । विद्यमान प्रक्रियालाई सरलीकरण गरी समयानुकूल प्रविधि प्रयोग गरी ई(गर्भनेन्सलाई अपनाउनुपर्छ । राजनीतिक दलगत ट्रेड युनियन खारेज गरी आधिकारिक ट्रेड युनियनको निर्वाचन गरिनुपर्छ । ट्रेड युनियनलाई रचनात्मक कार्यमा केन्द्रित गरिनुपर्छ । सेवाग्राहीलाई सेवासम्मको पहुँच अभिवृद्धि गर्न सेवाग्राही सचेतना तथा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिनुपर्छ । सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्राप्त गर्ने अवस्था सिर्जना गर्न प्रभावकारी गुनासो सुनुवाईको व्यवस्था गरिनुपर्छ । पत्रकारिता र सञ्चार माध्यमलाई सार्वजनिक सेवा र सेवाग्राहीबीचको सेतुको रुपमा स्थापित गरिनुपर्छ । कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहारले पनि विश्वासलाई प्रभाव पार्ने

भएकोले आचरण कडाइका साथ लागू गर्ने र कार्यसम्पादन मूल्याङ्कनमा सेवाग्राहीको मूल्याङ्कन समेटिनुपर्छ ।
समग्रमा नेपालको निजामती सेवाप्रति जनविश्वास घट्दै गएको छ । यसका कारणहरु सबै पक्षसँग जोडिएका छन् । निजामती सेवालाई स्वच्छ, सक्षम, पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, आम नागरिक, सञ्चार माध्यम र स्वयं कर्मचारी तथा सेवाग्राहीको रचनात्मक योगदान आवश्यक छ । नीति कानूनको समयानुकूल परिमार्जन गर्दै सेवाको प्रक्रियालाई सरलीकरण, संगठन संरचनामा समयानुकूल सुधार गर्नु पनि आवश्यक छ । सेवा प्रदायकका समस्या र बाध्यता सम्बोधन गर्दै कर्मचारीलाई मनैदेखि आफ्नो आचरण र मूल्य(मान्यतामा रहन सक्ने वातावरण सिर्जना गर्नु पनि अर्को पाटो छ । अहिले कर्मचारीमा के नपुगेमा काम बन्दैन भन्ने कार्यसंस्कृति छ । यसलाई के भएमा काम बन्छ भन्ने कार्यसंस्कृतिमा परिवर्तन गर्न सकेमा नेपालको निजामती सेवाप्रति खस्कँदै गएको जनविश्वास बढाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

About Prabhat Devkota

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*