बेलैमा ध्यान दिऔं

Posted:: (2 years ago) | February 7, 2017| 448 views

गर्मी याम शुरु हुँदैछ । बाँकेमा आगलागीको पनि उत्तिकै डर छ । विगत बर्षलाई हेर्दा यस क्षेत्रमै सबैभन्दा बढी आगलागी बाँकेमै भएको थियो ।  यसबाट ठूलो नोकसानी पनि नभएको होईन् । आगो लागे लत्तकै यसको नियन्त्रण गर्ने संयन्त्र बाँकेमा कमी भएकै कारण नोक्सानी बढेको देखिन्छ । त्यसैले यस पटकको गर्मी शुरुवातसँगै अआगजनी नियन्त्रणका लागि बेलै सोच्न जरुरी देखिएको छ । यस क्षेत्रकै व्यापारिक केन्द्र बाँकेमा रहेका दमकलहरु जीर्ण भएका छन् । बर्षौ पुराना दमकलहरु जीर्ण बन्दै गएपनि तिनको मर्मत सम्भारका लागि सम्बन्धित निकायले कुनै चासो देखाएको पाइँदैन । यस बर्षपनि गर्मीयाम शुरु हुन लाग्दा समेत जीर्ण दमकलको मर्मत सम्भार गर्ने सुरसार देखिएको छैन ।

पुराना हुनुका साथै मर्मतको अभावमा दमकल जीर्ण हुँदै गएपछि नेपालगन्ज, कोहलपुरका साथै आसपासमा हुने आगलागी नियन्त्रणमा एकदमै समस्या उत्पन्न हुने गरेको छ । दमकल पुराना र थोत्रा भएपछि तत्कालै आगलागीस्थलमा लैजान समेत मुस्किल पर्ने गरेको छ । बाँके अहिले पनि २७ बर्ष पुराना दमकलको भरमै छ । नेपालगन्ज उपमहा नगरपालिकाद्धारा सन्चालित दुइवटा दमकल लामो समयदेखि विग्रेका छन् । नगरपालिकामा रहेको एउटा मिनिमेक्स टाटा कम्पनीको दमकल २७ बर्र्ष पुरानो दमकल हो भने त्यसको कम्पनी नै बन्द भइसकेका कारण विग्रेको सामान पनि पाउन समस्या छ । कम्पनी नै बन्द भएको कारण देखाउदै नगरपालिकाले अहिलेपनि उक्त दमकल मर्मतका लागि अरु कुनैपनि प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

यस्तै १३ वर्ष पुरानो अर्को एउटा चिनिया दमकल पनि सँधैं विग्रेर हैरान हुने गरेको छ । दमकल बारम्बार बिग्रने गरेको भएपनि नगरपालिकाले यसको मर्मत गर्नेवारे चासो देखाएको छैन । सरकारले नेपालगन्जलाई  उपमहानगरपालिका घोषणा गरे लगत्तै ५४ लाखको एउटा दमकल उपलब्ध गराएको छ । तर उक्त दमकल यहाँका लागि पर्याप्त छैन । नेपालगन्जमा भएका दुई दमकलको अवस्था जीर्ण बनेको छ भने नगरपालिका घोषणा समेत भईसकेको कोहलपुरमा अहिलेसम्म एउटापनि दमकल छैन । क्षेत्रकै क्षेत्रीय सदरमुकाम सुर्खेतमा दमकलै छैन । बर्दियामा भएको दकमल पनि बिग्रेको छ ।

सबैभन्दा आपत्कालिन सेवाको रुपमा समेत रहेका एम्बुलेन्स र दमकलको मर्मत सम्भारमा सरकारले हरेक बर्ष माग गरे अनुसारको बजेट विनियोजन गर्ने गरेपनि नेपालगन्जमा रहेका दमकलको मर्मतका साथै नयाँ दमकल खरिदका लागि बजेटको अभाव रहेको नगरपालिका बताउँदै आएको छ । यता नगरपालिकाले पुराना दमकलहरु जीर्ण भएर काममा समस्या हुन थालेको कारण यस्ता दमकल विस्थापित गरी नयाँ खरिदका लागि सम्बन्धित निकायसँग माग गरेको छ । तर मागको सुनुवाई हुन सकेको छैन् । नगरपालिकाले नयाँ दमकल खरिदको माग गरेपनि सम्बन्धित निकाय स्थानीय विकास मन्त्रालयले खरिदका लागि स्वीकृती र आवश्यकता अनुसारको बजेट नपठाएको कारण समस्या यो बर्षपनि उत्तिकै हुने देखिएको छ । यद्दपी गर्मीयाममा हुने आगलागीको समस्या समाधान हुन नसक्ला तर आगलागी भए लगत्तैयसको नियन्त्रण गरी नोक्सानी कम गराउँँँनतर्फ सम्बन्धीत निकायले अहिले देखि नै सोच्न आबश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

About Prabhat Devkota

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*