दरिद्र सोंचप्रति श्रद्धान्जली !

Posted:: (2 years ago) | March 8, 2017| 661 views
   कमल न्यौपाने

कमल न्यौपाने

सोमवार सप्तरीमा ४ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि देश फेरि मुठभेडतर्फ धकेलिने हो कि भन्ने चिन्ता सर्बत्र छाएको छ । सप्तरी घटना देखे÷सुनेकाहरु स्तब्ध छन् । भलै अहिले विगतमा जस्तो देशको एउटा कुनामा दुःख पर्दा अर्को कुनाको जनतालाई दुख्ने सामिप्यता अहिले नहोला । तर मानवीय संवेदना हुनेहरुलाई सप्तरी घटनाले अवश्य दुखाएको छ । यतिबेला सबै जिम्मेवार बन्नुपर्ने समय हो । तर जिम्मेवार भनिएकाहरुबाट नै अहिले गैरजिम्मेवारपूर्ण कुराहरु अभिव्यक्त भईरहेका छन् ।

घटना मत्थर पार्दै अन्यत्र यस्तो घटना नहोस् भनी सबै देशवासी संवेदनशिल बन्नुपर्ने समयमा अनलाईन मिडिया र सामाजिक संजाल प्रयोगकर्ताहरु गैरजिम्मेवारपूर्ण तवरले प्रस्तुत भईरहेको देखिन्छ । आफु पक्षधरतालाई चोख्याउन र विरोधीलाई अपराधी सिद्ध गर्न विभिन्न पक्षहरु लागिपरेका छन् । कतिपयले सम्प्रदायिक कुराहरु उठाएर एक–अर्कोलाई थप उत्तेजित बनाईरहेका छन् । समस्या थप बल्झाउने भूमिकामा जिम्मेवार भनिएका वकिल र पत्रकारहरु पनि देखिएका छन् । नेपालगन्जलाई लामो समय आफ्नो कर्मथलो बनाएका कानुन व्यवसायी तेजकुमार शर्मा जस्ता व्यक्तिले समेत परिस्थिति विगार्न सामाजिक सञ्जालमा आगो ओकल्दैछन् । उनले मंगलबार आफ्नो फेसबुक वालमा सप्तरी घटनामा प्रहरीले मधेसी मोर्चाको कार्यकर्ताहरुलाई लखेट्दै गरेको एउटा फोटो पोस्ट गर्दै स्टाटस लेखे– देख तमासा इन्डियनहरु लखेटिए गहुँबारीमा ।

पत्रकारितामा समेत स्नातकोत्तर गरेका शर्मा जस्ता ‘बुझक्कड’ हरुबाट यस्तो दरिद्र सोच प्रवाह हुन्छ भने विवेक बन्धक राखेर अमुक दलको पिछलग्गु भएका कार्यकर्ताहरुको के कुरा गर्नु ! शर्माजस्ता नश्लिय सोंच राख्नेहरुले नै सिंगो नेपालको भावनात्मक एकतालाई खल्बल्याईरहेका छन् । अतिवादलाई प्रश्रय दिईरहेका छन् । अलगाववादीलाई मलजल गरिरहेका छन् ।

घटना नहुनु थियो, भईसक्यो । घटनालाई साम्य पार्नतर्फ भन्दा पिन एक अर्कोमा दोषारोपण गरेर आफु बच्ने ध्याउन्नमा छन् सबै । मधेसी मोर्चाले घटनाको दोषी एमाले भनेको छ । एमालेले मधेसी मोर्चातिर औंलो ठड्याएको छ । प्रहरीबाट चलेको गोलीबाट मोर्चाका कार्यकर्ताको मृत्यु भएको हुँदा दुवै पक्षले सरकारलाई पनि जिम्मेवार ठह¥याउनु अस्वभाविक हैन । एमाले, मधेसी मोर्चा र सरकार मात्र हैन सप्तरी घटनाका सम्बन्धमा अनलाईन पत्रकारले पनि निष्पक्षता दर्शाउन सकेका छैनन् । अनेकन अनलाईन मिडियाको समाचारहरु हेर्दा कसले कसको वकालत गरिरहेको छ भन्ने प्रष्ट हुन्छ ।

एमालेको तराई–मधेसमा मेची–महाकाली अभियान चलाउनुको एउटा उद्देश्यमा मधेस–पहाड् जोड्ने भन्ने पनि थियो । तर एमालेको यो अभियान मधेस–पहाड जोड्ने नभई थप तोड्ने साबित भईदियो । हो, कसैले पनि देशको जुनसुकै भु–भागमा सभा, सम्मेलन लगायत राजनीतिक गतिविधि गर्न पाउँछ । जुन लोकतन्त्रले दिएको एउटा अधिकार हो । लोकतन्त्रले दिएको अधिकारको उपयोग गर्न पाउनु एमालेको हक बन्छ । त्यस्तै लोकतन्त्रमा विरोध गर्न पाउनु पनि अर्को अधिकार हो । मधेसी मोर्चाले पनि त्यही अधिकारको नाममा विरोधको आयोजना ग¥यो । तर दुवैले आफ्ना अधिकारको उपयोग गरिरहँदा जिम्मेवारी र दायित्वबाट भने विमुख भएको अवस्था रह्यो, सप्तरी घटनाका सन्दर्भमा ।

एमालेको अभियान र मधेसी मोर्चाको अवरोधको घोषणा हुँदा नै यस्तो घटना हुन सक्छ भन्ने अड्कल भईसकेकै हो । मधेसी मोर्चालाई गैरजिम्मेवार भन्दै आएको एमाले यतिबेला आफु जिम्मेवार बन्न सक्नुपथ्र्यो । देशको दोस्रो ठूलो दल एमालेले मधेसी मोर्चाको अवरोध हुने भएपछि विवेकसम्मत निर्णय लिन सक्नुपथ्र्यो । तर उ इटका जवाफ पत्तथरले दिने कार्यनीतिमा अगाडि बढ्यो । मोर्चाले जोरी खोज्यो भन्दैमा आफुलाई जिम्मेवार बताउने एमाले पछि सर्दा उसको कद पक्कै घट्ने थिएन । बरु उँचो नै हुने थियो । २०४२ सालमा नेपाली कांग्रेसको सत्याग्रहका समयमा बम विष्फोट हुँदा सत्याग्रह स्थगित गरिएको थियो । जुन तत्कालिन परिस्थितिको उचित निर्णय पनि थियो । नेकपा एमालेले पनि आफ्नो मेची–काली अभियानमा त्यस किसिमको केही निर्णय लिन्छ र कुनै अप्रिय घटना हुँदैन कि भन्ने धेरैको अपेक्षा थियो । तर त्यसो हुन सकेन । भलै घटनापछि भने एमालेले मेची–काली अभियान तीन दिनका लागि स्थगत गरेको छ । जसलाई सकारात्मक नै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

About Prabhat Devkota

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*