प्रमुख पदमा महिलाको अर्थपूर्ण सहभागिता कसरी ?

Posted:: (2 years ago) | April 7, 2017| 1,358 views
दीपा आले

दीपा आले

यति बेला देशै भर स्थानीय निर्वाचनको चहलपहल बढेको छ । शहर, बजार, गाउं घर चौक र चौरहामा जताततै निर्वाचनको बारेमा बहस गर्दैछन् । त्यति मात्र होइन अबको स्थानीय निर्वाचनमा दलहरुले आ–आफ्ना पार्टीलाई चुनाव जिताउन कडा कसरतमा लाग्दैछन् । दलका सक्रिय नेताहरु आफू कुन–कुन पदमा उम्मेदवार दिने भनेर होडबाजी चलेको अवस्था छ । पुरुष नेताहरु मात्र नभई महिला नेतृहरु पनि स्थानीय निर्वाचनमा भाग लिन सक्रिय देखिएका छन् । स्थानीय चुनावले यति बेला हरेक जनताको मनमष्तिस्क र ढुकढुकीलाई चलायमान गरेको छ । स्थानीय निर्वाचनको माहौल दिन दिनै तातिदैछ । जसलाई प्रत्यक्ष अवलोकन गर्दा नेपाली जनता निर्वाचन चाहन्छ भन्ने कुरा हामीले बुझ्न सक्छौं ।

जनआन्दोलन ६२÷६३ को जर्जर अवस्थामा समेत महिलाले अग्रपंक्तिमा देशको लागि अहम भुमिका निभाएका थिए । त्यसपश्चात देशमा महिलाहरुले पनि राजनीतिक क्षेत्र लगायत हरेक क्षेत्रमा काम गर्न सक्छ भनेर देखाउन सफल भए । जसको कारण आज नेपालको राजनीतिकमा केही हदसम्म भएपनि महिलाहरु उदाउन सफल भएका हुन् । महिलाहरु पनि अब हुने स्थानीय निर्वाचनमा खुल्ला प्रतिस्पर्धामा उत्र्रिएर देशको बागडोर सम्हाल्न सक्ने हैसियत बनाउन चाहन्छन् । र केही महिलाहरुले त काम गरेर विश्व सामु देखाईसकेका पनि छन् । दलहरुको लामो छलफल र बहस पछि २०७४ साल बैशाख ३१ गतेका लागि सरकारले स्थानीय चुनावको मिति तय ग¥यो ।

घोषणा लगत्तै निर्वाचन आयोगले निर्वाचनकोलागि सम्पूर्ण तयारी गर्दैछ । २० वर्ष पछि नेपाली जनताको घर–घरमा आउन लागेको स्थानीय चुनावको लहर यसरी उत्साह पूर्वक अघि बढेको छ । जसलाई रोक्न केही दलहरु लागेपनि रोक्न सक्ने अवस्था भने छैन । विगतका चुनाव र वर्तमानमा हुन लागेको चुनावको अवस्था हेर्दा यति बेला महिलाहरु खुलेआम प्रतिस्पर्धामा आउन थालेपछि साँच्चै नै महिलाहरुमा राजनीतिक चेतनाको विकास भई परिपक्क भएको हो कि भन्ने बुझ्न सकिन्छ । नेपालको विभिन्न आन्दोलनमा महिलाहरुले खेलेको अहम भूमिकालाई मध्येनजर गर्दै सरकारले अब हुने स्थानीय चुनावलाई केन्द्रित गर्दै महिला प्रतिनिधित्व कम्तीमा ४० प्रतिशत रहने गरी तोकेको छ । देशको कुल मतदाता संख्या १ करोड ४० लाख रहेको छ । जसमा ७ सय ४४ गाउँपालिका र नगरपालिकामा निर्वाचन हुँदैछ । ४ सय ८१ गाउँपालिका, ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका रहेका छन् । ७ सय ४४ ठाउँमा एकै पटक निर्वाचन हुने निर्वाचन आयोगले जानकारी दिएको छ । गाउँपालिकामा ५ देखि २१ वडा रहने छन् भने नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा ९ देखि ३५ वडा रहने व्यवस्था गरिएको छ । ७ सय ४४ स्थानीय तहको ६ हजार ६ सय ८० वडा रहनेछन् । स्थानीय तहको प्रत्येक वडामा एक दलित महिला सहित २ महिला सदस्य रहने प्रावधान गरिएको छ । जसले गर्दा १३ हजार ३ सय ६० महिला सदस्य सुनिश्चित हुनेछ । प्रत्येक गाउँ वडा समितिमा एक जना वडाध्यक्ष र चार जना वडा सदस्य चयन हुनेछन् । भने नगरपालिकामा पनि सोही गाउँ वडा समिति जस्तै प्रत्येक वडामा एक दलित महिला सहित २ महिला सदस्य गरी एक जना वडाध्यक्ष र चार जना वडा सदस्य चयन हुनेछ । त्यसैगरी गाउँपालिकामा अध्यक्ष उपाध्यक्षमा एक महिला उठाउनु पर्ने भनिएको छ भने नगरपालिकामा प्रमुख र उपप्रमुखमा एक महिलालाई दिने प्रावधान राखिएको छ । अध्यक्ष, उपाध्यक्ष र प्रमुख उपप्रमुख मध्ये कुन पदमा महिलालाई अनिर्वाय उम्मेदवार दिने भनेर कोटा तोकिएको छैन । यसमा उम्मेदवार हुने पुरुष र महिलाको क्षमता, दक्षता र क्रियाशीलतालाई हेरेर यो दुई पद मध्ये एकमा महिलालाई उम्मेदवार दिएर मात्र होइन चुनावमा जिताउन सके महिलाको राजनीतिकमा ठूलो सहभागिता हुने थियो । तर दुई पदमा महिला महिला नभई महिला पुरुषसंग चुनावमा लडाउने षडयन्त्र गरियो भने महिला हार्न पनि सक्छ किन कि विगतको निर्वाचनलाई हेरेर पनि कसरी महिलालाई पुरुषसँग भिडाएर चुनावमा हराएका छन् भन्ने घटनाहरु हाम्रा माझ थुप्रै छन् ।

स्थानीय चुनावमा छुटाइएका प्रमुख पदहरुमा पुरुष पुरुषले पनि जित्न सक्छ यसो गर्दा महिला नेतृहरु नेतृत्वमा आउन भने बञ्चित हुन सक्ने सम्भावना रहेको राजनीतिक क्षेत्रमा क्रियाशिल महिला नेतृहरु यस विषयमा गम्भीर भएका छन् । महिला महिला चुनावमा भिड्ने व्यवस्था भएको भए जुनै दलबाट जितेपनि महिलाको कोठा सुनिश्चित हुने थियो । तर पनि प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष पदमा दलहरुले आ–आफ्नो पार्टीबाट उम्मेदवार दिँदा महिलालाई हराउने खेल भन्दा पनि जिताउने खेल खेल्न सके महिलाहरुले राजनीतिमा सफलता हासिल गर्ने देखिन्छ । राज्यले महिलालाई राजनीतिक क्षेत्रमा ल्याउने जुन सकरात्मक विभेदको प्रवाधान गरेको छ त्यो कार्य केही हदसम्म भएपनि ४० प्रतिशत महिलाहरु सहभागीता हुने थियो । एकातिर महिलाहरुलाई निर्वाचनमा आफ्नो उम्मेदवार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने बारेमा सोच्न बाध्य बनाएको छ । किनभने हरेक दलमा महिलाहरुलाई टिकट दिने दाताहरु पुरुष नै छन् । अहिले पनि निर्णायक तहमा महिलाहरुको पहुँच न्युन रहेको छ । लामो समय राजनीतिक क्षेत्रमा त्याग गरेका र क्रियाशिल भईरहेका महिला पुरुषभन्दा आफ्ना नातागोता र आर्थिक अवस्था बलियो भएका अवसरवादीहरुलाई दिने गरिएको गुनासो हाम्रा सामु सुनिन नआएको होइन । अझ यो निर्वाचनको बेला महिलाहरुलाई हरेक राजनीतिक दलका पार्टी भित्रका केही पुरुष व्यक्तिले निर्वाचनमा उम्मेदवार हुँदा धेरै आर्थिक खर्च हुने डर त्रास देखाएर सक्रिय महिला नेतृहरुलाई पन्छाउने खेल खेलिदैछन् ।

एक साता अगाडि म नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा गएको थिए । त्यहाँ प्रायः सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल महिलाहरुलाई कार्यक्रममा बोलाएर निर्वाचनको बारेमा छलफल गरिएको थियो । निर्वाचनको बारेमा छलफल गर्दा प्रायः सबै राजनीतिक क्षेत्रमा क्रियाशील महिलाहरु चुनावमा उम्मेदवारी दिँदा आर्थिक बार्गेनिङ्ग भएको कुरा सुनाएका थिए । जसले गर्दा उनीहरुको मुहारमा तनावको संकेत देखिन्थ्यो । लामो समय राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निभाउदा निभाउदै आर्थिक अभावका कारण कतै निर्वाचनमा आफूले उम्मेदवार नपाईने हो कि भन्ने डर उनीहरुमा देखियो ।

यदि आ–आफ्ना पार्टीबाट टिकट पाई हालेपनि आर्थिक अभावका कारण चुनावमा सफलता हासिल गर्न नसकिने हो कि भन्ने पीडा महिलाहरुमा देखिन्छ । किन कि विगतमा भएका कयौं चुनावहरुमा रातारात आर्थिकको चलखेलमा नै चुनाव जित्नेहरुको हावि नभएको होइन । यति मात्र होइन गाउँपालिका होस् या नगरपालिका होस् प्रत्येक वडाध्यक्षमा उम्मेदवार महिलाको होइन पुरुषहरुकै नाम बढी चर्चामा आएको छ । यदि महिलाले आफ्नो नाम प्रस्ताव गरिहाले भने महिलाप्रति प्रायः सबै दलहरुले त्यति विश्वास नगरेको देखिन्छ । समाचारमा हामी दिनहुँ नजर लगाउँदा प्रमुख पदहरुमा पुरुषहरुको चर्चापरिचर्चा गरिएको छ । राज्यको हरेक शक्ति र सत्ताको पहिलो पदमा पुरुषले ढुक्क साथ उम्मेदवार दिने गर्दछ भने महिलाहरु अझ पनि ढुक्क साथ प्रमुख पदहरुमा आफ्नो नाम उम्मेदवार दिन डराईरहेका छन् ।

यदि कोही सक्रिय क्रियाशिल र पार्टीमा त्याग गरेका महिलाहरु निर्वाचनमा उम्मेदवार दिन चाहान्छु भनेर अघि बढे पनि त्यस्ता महिलाहरुलाई पार्टीले पनि लत्याएको अवस्था हाम्रो अगाडि छिपेको छैन । सक्रिय र सक्षम महिलालाई हराउन गुट–उपगुटमा लागेर मौन समर्थनमा बस्ने महिलालाई पार्टीले प्रोत्साहन गरेको अवस्था हाम्रो सामु जगजाहेर छ । यस्ता प्रवृतिले गर्दा महिलालाई मात्र होइन स्वयम पार्टी र राज्यलाई घाटा हुन्छ भन्ने कुरा राजनैतिक दलका प्रमुखहरुले कदापि बिर्सनु हुँदैन । विगतका दिनमा महिलाहरुले गरेका कामकाजमा जे जस्तो मुल्यांकन गरेपनि अब देश संघीयतामा गईसकेको छ । देशमा नयाँ संविधान निर्माण भई व्यवहारिक पक्षका विषयमा कार्यान्वन हुने क्रम जारी छ । संघीय संरचना र प्रदेशको नामाकरण जस्ता विषयमा बहस छलफल भईरहेको छ । त्यसैले अब हुने देशको तीन तहको चुनावमा सबै दलहरुले महिला नेतृलाई महत्वपूर्ण भूमिका दिलाउन सक्छु पर्छ । आफ्ना नातागोता र गुटमिल्ने भन्दा पनि पार्टी भित्र बसेर लामो समय त्याग र योगदान दिएका क्रियाशिल, सक्षम, शिक्षित, बौद्धिक, इमान्दार, निष्ठावान, चरित्रवान, समाज र जनताकोलागि अहोरात्र खटिने व्यक्तित्वलाई टिकट दिन कन्जुसाई गर्नु हुंदैन ।

मेरो भन्दा पनि हामी सबैको नेता बन्न सक्ने खुबी भएको व्यक्तित्वलाई टिकट दिन सक्नु पर्छ । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सक्ने समाज र राष्ट्रकोलागि अहोरात्र खटिन सक्ने व्यक्तित्वलाई चिन्न सके राष्ट्र भोलिका दिनमा शान्ति समृद्धि र विकाशको बाटो तिर नलम्कीएला भन्न सकिदैन । देश र जनताकालागि काम गर्छु भनेर गएका नेताहरुबाट नै देशमा भष्ट्रचार मौलाइरहेको छ । हामी सबैलाई थाहा भएको कुरो हो आज देशलाई भष्ट्रचारले चरमबिन्दुमा पु¥याएको छ । हामी ‘कमनसेन्स’ लगाउन सक्छौं सत्ता र शक्तिको रजाई कस्ता कस्ता व्यक्तिहरुले गरेका छन् । यदि साँच्चै स्थानीय चुनावमा मात्र होइन प्रदेश र केन्द्रको चुनावमा समेत महिलालाई विश्वास गरी काम गर्ने वातावरण दिन सके पक्कै पनि आउँदा दिनहरुमा मुलुकलाई भष्ट्रचारमुक्त देश भनेर विश्वमा चिनाउन सक्थ्यो होला । मैले यसरी महिलाको बारे वकालत गरिरहदा सबै पुरुषहरु काम नलाग्ने छन् भन्न खोजिएको होइन । पुरुष विरोधी होइन । धेरै मध्ये केही पुरुषहरु योग्य, बौद्धिक, उदारवादी, महिलाहरुलाई सम्मान इज्जत र महिलाको हितकोलागि सधैं अहोरात्र खटिने व्यक्तित्वहरु पनि छन् । तर समग्रमा भन्नु पर्दा थोरै पुरुष मात्र छन् जसले महिलाको हितकोलागि बोल्दछन् । जसले गर्दा आजको २१ औं शताब्दीमा पनि महिलाहरु दोस्रो दर्जामा रहनु परेको दुःखलाग्दो अवस्था छ ।

स्थानीय चुनाव नजिकिदै छ । यो चुनावमा महिलाहरुले आफ्नो क्षमता, दक्षता, बौद्धिकता र क्रियाशिलतालाई हेरेर आफू कुन पदकोलागि योग्य छु आत्मालाई साक्षी राखेर अरुको लहलहैमा नलागेर आफूले सक्ने पदमा उम्मेदवार दिन सके पक्कै पनि निर्वाचनमा सफलता हात पार्नेछ । त्यसैले महिला नेतृहरुले पनि आफ्नो अधिकारकालागि आफै सक्रिय भएर लाग्नु पर्छ । पुरुषवादी सोंचको हुबहु गरेर महिलाले महिलाको खुट्टा तान्ने प्रवृतिलाई हटाउनु सक्नुपर्छ । महिलाहरु अब एक ढिक्का भएर योग्य सक्षम क्षमता भएका महिलालाई चुनावमा जिताउन भूमिका खेल्नु पर्छ । अर्को कुरा महिला पुरुष भनेका ‘एक रथका दुई पाङग्रा हुन्’ ‘एक सिक्काका दुई पाटा हुन्’ त्यसैले एकले अर्कालाई सकरात्मक ढंगले सहयोग गर्दै योग्य, दक्ष महिला र पुरुष अबको चुनावमा आउन सके समाज, देश र जनताले काँचुली फेर्नेमा दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*