अब लाईसेन्सको परीक्षा सँधै खुला : पाँच दिनमै नतिजा

Posted:: (2 years ago) | January 4, 2018| 19,653 views

यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जमा पनि अनलाईन प्रणालीबाट फर्म भरेर सवारीसाधन अनुमतिपत्र (लाईसेन्स) को परीक्षा दिने व्यवस्था गरिएको छ । कार्यालयले बिहीबार सूचना प्रकाशित गरी अनलाईन प्रणालीबाट फर्म भरेर लाईसेन्सको परीक्षा दिने व्यवस्था मिलाएको जनाएको छ ।

liscenceकार्यालय प्रमुख विनोद कुमार पोखरेलका अनुसार यही २५ गतेदेखि अनलाईन फर्म भर्न सकिने छ । अनलाईन सुविधासँगै फर्म भर्न लामो समयसम्म लाईनमा बस्नुपर्ने बाध्यता अब हट्ने भएको छ । त्यस्तै लाईसेन्सका परीक्षामा सहभागि हुन महिनौं कुर्नुपर्ने बाध्यता टर्ने भएको छ । मोटरसाईकल, स्कुटर र कार–जीपको लाईसेन्सका लागि २५ गतेदेखि अनलाईन फर्म भर्न सकिने व्यवस्था मिलाईएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

नयाँ व्यवस्था अनुसार अनलाईन फारम भरेको भोलिपल्ट नै कार्यालयले बायोम्याट्रिक (कम्प्यूटरबाट फोटो खिच्ने) र मेडिकल गर्ने व्यवस्था मिलाएको छ भने फोटो खिच्ने र मेडिकल गरेको भोलिपल्टै लिखित परीक्षा लिईने छ । त्यस्तै लिखित परीक्षा दिएको भोलिपल्टै परीक्षार्थीले ट्रायल दिन पाउने छन् । नयाँ व्यवस्था अनुसार अब फर्म भरेको पाँच दिनभित्र नै उत्तिर्ण भएको वा अनुत्तिर्ण भएको नतिजा आईसक्ने छ । तर उत्तिर्ण परीक्षार्थीले लाईसेन्सका लागि तिरेको शुल्कबापत प्राप्त गरेको रसिदलाई नै केही समय लाईसेन्स मान्नुपर्ने भएको छ । किनभने यातायात व्यवस्था कार्यालय भेरी, नेपालगन्जले अबदेखि स्मार्ट लाईसेन्स दिने भएकाले तत्कालै उपलब्ध गराउन सक्ने अवस्था छैन । ‘अब जति पनि लाईसेन्स दिईन्छ, ती सबै स्मार्ट हुनेछन् । जुन बनेर आईपुग्न करिब तीन महिना लाग्ने देखिन्छ । स्मार्ट लाईसेन्स हातमा नपर्दासम्म शुल्क तिरेको रसिदले नै लाईसेन्सको काम गर्ने छ ।’, कार्यालय प्रमुख पोखरेलले भने ।

यातायात व्यवस्स्था विभागको वेबसाईट www.dotm.gov.np मा रहेको अनलाईन फर्म सिस्टमबाट आईतबारदेखि बुधबारसम्म अनलाईन फर्म भर्न सकिने यातायात व्यवस्था कार्यालयले जनाएको छ । नयाँ प्रविधिबाट फर्म भर्ने व्यवस्था पहिलो पटक सुरु गरिनु अघि विभागले यहाँका सबै कर्मचारीहरुलाई तालिम पनि दिईसकेको छ । ‘विभागबाट आएर हामीलाई तालिम पनि दिईएको छ । सुरुवाती चरणमा केही प्राविधिक कठिनाई भएपनि दुई/तीन महिनाभित्र परफेक्ट हुने विश्वास हामीले लिएका छौं ।’, प्रमुख पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*