वडाध्यक्षले छुटाए तस्कर !: अवैध कुखुरा भित्र्याउने छब्बिस जना कारबाहीमा, पौने तीन लाख राजश्व

वडाध्यक्षले छुटाए तस्कर !
Posted:: (10 months ago) | August 24, 2018| 7,248 views

पाँच नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरो नेपालगन्जले एक महिना यता बाँके र बर्दियामा भारतबाट अवैधरुपमा ब्रोईलर कुखुरा र चल्ला आयात गर्नेहरुलाई धमाधम पक्राउ गरी कारबाही अघि बढाएको छ । साउन पाँच गते पाँच नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरो नेपालगन्जको कमाण्ड सम्हालेका देवीप्रसाद पौडेल नेतृत्वको टोलीले फरक–फरक मितिमा अवैधरुपमा भारतबाट कुखुरा आयात गर्ने २६ जनालाई कारबाही गरिसकेको छ ।

पशु क्वारेन्टाईन चेक पोस्ट् नेपालगन्जका पशु चिकित्सक राम शेवक त्रिपाठीका अनुसार एक महिना यता अवैधरुपमा भारतबाट ब्रोईलर कुखुरा र चल्ला आयात गर्ने २६ जनालाई पक्राउ गरी प्रहरीले क्वारेन्टाईनमा बुझाएको जानकारी दिए । त्रिपाठीका अनुसार प्रहरीले करिब १ महिनाको अवधिमा अवैधरुपमा भित्र्याईएका १२ सय ९२ वटा ब्रोईलर कुखुरा र ४२ सय ६० वटा ब्रोईलर कुखुराका चल्ला बरामद गरी क्वारेन्टाईनमा बुझाएको छ ।

पशु क्वारेन्टाईनका पशु स्वास्थ्य प्राविधिक तिलक आचार्यका अनुसार प्रहरीले चलाएको कारबाहीपछि राजश्वमा पनि बृद्धि भएको छ । एक महिनाको अवधिमा ब्रोईलर कुखुरा र चल्ला भित्र्याउनेहरुबाट २ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन भएको आचार्यले जानकारी दिए ।

यसैबीच पाँच नम्बर प्रदेश प्रहरी ब्यूरोका प्रहरी निरीक्षक पौडेलको कमाण्डमा खटिएको टोलीले शुक्रबार बिहान पनि भारतबाट अवैधरुपमा भित्र्याईएका २७ सय ब्रोईलरका चल्ला नियन्त्रणमा लिएको छ । अवैधरुपमा ब्रोईलरका चल्ला ल्याउने ६ जनालाई पनि पक्राउ गरी चल्लासहित पशु क्वारेन्टाईनको जिम्मा लगाईएको छ । बिहान करिब ६ बजेको समयमा नेपालगन्ज वडा नम्बर २० स्थित राँझा नजिकैबाट तस्कर र ब्रोईलरका चल्ला नियन्त्रणमा लिईएको पौडेलले बताए ।

शुक्रबार नियन्त्रणमा लिईएका ब्रोईलर कुखुराका चल्ला पशु क्वारेन्टाईन चेक पोष्टमा ।

शुक्रबार नियन्त्रणमा लिईएका ब्रोईलर कुखुराका चल्ला पशु क्वारेन्टाईन चेक पोष्टमा ।

पौडेलका अनुसार नेपालगन्ज वडा नम्बर २० का १९ बर्षीय अर्जुन कुसबँधिया, २५ बर्षीय जाफर सल्मानी, २० बर्षीय सरोज कुसबँधिया, ३७ बर्षीय धनिज कुसबँधिया, २२ बर्षीय सुशील कुसबँधिया र २१ बर्षीय अर्जन कुसबँधियालाई अवैध चल्लासहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले चल्ला ल्याएबापत एकपटकमा एक हजार रुपैयाँ पाउने गरेको वयानमा कवुलेको पनि प्रहरीले जनाएको छ ।

वडाध्यक्षले छुटाए तस्कर !

वडा नम्बर २० का वडाध्यक्ष कृष्ण कार्कीले शुक्रबार पक्राउ परेका ६ जना कुखुरा तस्करलाई छुटाएका छन् । पशु क्वारेन्टाईनमै पुगी ६० हजार रुपैयाँ जरिवाना तिरेर वडाध्यक्ष कार्कीले तस्करहरुलाई छुटाएको बुझिएको छ ।

तस्करहरुले राँझास्थित दीलिप बर्माको कुखुरा फार्ममा ब्रोईलरका चल्ला लैजाँदै थिए । बर्माले भारतबाट अवैधरुपमा कुखुराका चल्ला भित्र्याउने र यहाँका ब्रोईलर कुखुरा पालकलाई बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले कारबाही गर्ने डरले बर्मा भने सम्पर्कमा आएका छैनन् । उनका तर्फबाट वडाध्यक्ष कार्कीले तस्करहरुलाई छुटाएका हुन् । क्वारेन्टाईनले जरिवाना तिराएर वडाध्यक्ष कार्कीको रोहवरमा तस्करहरुलाई छाडेको हो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*