पटक–पटक फेरिएको त्रिभुवन चोकको इतिहास अब के होला ?

Posted:: (2 months ago) | April 9, 2019| 220 views

प्रभात देवकोटा

२०६२/०६३ को जनआन्दोलनमा राजाहरुका शालिक र स्तम्भहरु आन्दोलनकर्मीको निशानामा परे । जसबाट नेपालगन्जको त्रिभुवन चोक पनि अछुतो रहेन । ०६२/०६३ को जनआन्दोलनमा आन्दोलनकारीले नेपालगन्ज सदरलाईनमा रहेको त्रिभुवनको शालिक तोडफोड गरे । तोडफोडबाट कुरुप बनेको त्रिभुवनको शालिक पछि प्रशासनले हटायो । र, बच्यो ठूटो स्तम्भ मात्रै ।

लगत्तै मधेश आन्दोलन सुरु भयो नेपालगन्जबाट । मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर कमल गिरी मारिए । कमल मारिएपछि मधेशकेन्द्रित दलहरुले आन्दोलनकै क्रममा त्रिुभवन चोकलाई कमल मधेशी चोक नामाकरण गरे । स्तम्भमा कमल मधेशी चोक पनि लेखियो ।

मधेश आन्दोलनको राप–ताप रहँदासम्म कतिपयले त्रिभुवन चोकलाई कमल मधेशी चोककारुपमा स्थापित गर्ने प्रयत्न गरे । तर, मधेश आन्दोलनको राप सेलाउँदै जाँदा एकातिर कमल मधेशी चोक नामाकरण गर्ने पक्षधरहरु पनि सुस्ताए भने अर्कोतिर जनजीब्रोमा त्रिभुवन चोक नामको विकल्प पनि सुझेन । अन्ततः जनआन्दोलन र मधेश आन्दोलनको निशानामा परेको त्रिभुवन चोकले पुनर्जीवन पायो । अर्थात सर्वसाधारणले मौनतापूर्वक त्रिभुवन चोकको अस्तित्व स्वीकारे ।

tribhuwan chok

त्यही त्रिभुवन चोक सोमबार साँझदेखि फेरि एकाएक चर्चामा छ । नेपालगन्ज उद्योग वाणिज्य संघको प्रस्तावमा नेपालगन्ज उपमहानगरपालिकाले विगतमा त्रिभुवनको शालिक रहेको स्तम्भ पनि ‘भत्काउन सहमति जनाएको’ विषयले बबण्डर मच्चिएको छ । नगरपालिकाको अनुमतिमा भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले विगतमा त्रिभुवनको शालिक रहेको संरचना भत्काईएको दाबी गर्दै आएका छन् ।

सो स्थानमा स्तम्भ बनाउने नक्सा (उपमहानगरपालिकालाई २०७५/०८/१३ मा उपलब्ध गराईएको) पनि मंगलबार सार्वजनिक भईसकेको छ । जुन नक्सामा सबैभन्दा माथि नेपालको झण्डा त्यसपछि तल क्रमशः गोलाकार, त्यसको तल पाईपसहितको संरचना, त्यसको तल प्रतिमा (शालिक) राख्ने स्थान अनि मार्वलको स्तम्भ र फाउण्डेसन रहने देखाईएको छ ।

stambha

शालिक राख्ने ठाउँ त नक्सामा छ । तर, कसको शालिक भन्ने उल्लेख नै छैन । त्यस्तै उक्त संरचनाको नाम पनि ‘स्तम्भ’ भनिएको छ । त्रिुभवन चोक कतै पनि उल्लेख गरिएको छैन । सोमबार राति अचानक एक्साभेटर लगाएर स्तम्भ भत्काउन थालिएपछि स्वस्फूर्तरुपमा जम्मा भएका नेपालगन्जवासीले चर्को विरोध गरे । स्तम्भ भत्काउन नहुने भन्दै सर्वसाधारण आक्रोशित भएपछि त्यहीँ रहेका संघका अध्यक्ष बैश्य पनि सुरक्षित हुन घरतिर गए । अनि उपमहानगरपालिकाको एक्साभेटर पनि फिर्ता भयो ।

घटनाको दोस्रो दिनसम्म आईपुग्दा त्रिभुवन चोकको स्तम्भ भत्काईएकोप्रति मत विभाजन भएको छ । स्तम्भ भत्काईएको विषयमा मात्र नभई अब त्यहाँ कसको प्रतिमा (शालिक) राख्ने भन्नेतर्फ बहस मोडिएको छ । मधेश केन्द्रित दलका नेता–कार्यकर्ताहरु मधेशी चोक नामाकरण गर्नुपर्ने लबिङ गर्न थालेका छन् । इतर दलका नेता–कार्यकर्ता र सर्वसाधारणहरु भने पुनः स्तम्भ बनाएर त्रिभुवन चोककै शालिक स्थापना गर्नुपर्ने पक्षमा छन् ।

स्तम्भ भत्काउन अनुमति दिने नेपालगन्का मेयर डा. धवल शमशेर राणा भने अहिलेसम्म मौन बसेका छन् । विषयको गम्भीरता आँकलन गर्न नसकेर आफूखुसी स्तम्भ भत्काउन सक्रिय नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्य भने यो मुद्दामा नराम्ररी फसेका छन् । इतिहास मेटाउन अग्रसरता देखाएको भन्दै सबैले उनैप्रति धारेहात देखाईरहेका छन् । उनले पनि सायद विषय यति जटील हुन्छ भन्ने सायदै सोचेका हुँदा हुन् । त्यसैले त उनले स्वकारेका पनि छन् कि सबैवस्तुस्थिति सार्वजनिक नगरेरै स्तम्भ भत्काउन खोज्नु गल्ती भयो !

tribhuwan chowk

त्यसो त मेयर राणाले पनि त्रिभुवन चोकमा नयाँ संरचना बनाउने विषयमा पर्याप्त सजगता अपनाएको देखिँदैन । उनले उपमहानगरपालिकाका बोर्ड सदस्यहरुलाई समेत गुमराहमा राखेर नयाँ संरचनाका लागि अनुमति दिएको बुझिन्छ । किनभने त्रिभुवन चोक पर्ने वडा नं. ८ र ११ का अध्यक्षलाई समेत यो विषयमा जानकारी नै थिएन ।

पत्रकार हेमन्त कर्माचार्य पनि यो विषयमा मेयर राणाले आफ्नै वडाध्यक्षहरुलाई अविश्वास गरेको प्रष्ट देखिएको बताउँछन् । ‘मेयरले आफ्नै वडाध्यक्षहरुलाई समेत विश्वास नगरेको प्रष्टै देखिन्छ । कमसेकम अरुलाई नभएपनि त्रिभुवन चोक पर्ने वडाका अध्यक्षहरुलाई त जानकारी गराउनुपथ्र्यो ।’, कर्माचार्यले भने, ‘कुनै दाताले केही गरिदिन्छ भन्दैमा अन्धधुन्ध आफूखुसी अनुमति दिन पाईन्छ र ? न कुनै परामर्श न कुनै सरसल्लाह गरिएको कामको नतिजा हो यो सबै विवाद !’

‘बि.सं. १८६० मा नेपालगन्ज बस्ती बसेपछि मुख्य बजार थियो त्रिभुवन चोक । जहाँ (स्तम्भ भएको ठाउँ) राजश्व संकलनका लागि भन्सार कार्यालय (चारपाटे घर) स्थापना गरिएको थियो । पछि राणाकालमा जुद्ध शमशेरले भन्सार कार्यालय नगरभवन नजिकै सारेर त्यहाँ आफ्नै शालिक बनाए । जुन शालिक २०१४ सालसम्म थियो । २०१५ सालमा नेपालगन्ज नगरपालिका गठन भयो र तत्कालिन मेयरले जुृद्धको शालिक हटाएर त्यहाँ प्रहरी पोष्ट निर्माण गरे । जुन प्रहरी पोष्ट भएको ठाउँमा २०२१ सालमा स्तम्भ बनाएर त्रिभुवनको शालिक स्थापना गरियो ।’ (इतिहासका जानकार सनत रेग्मीसँगको कुराकानीमा आधारित)

त्यसो त त्रिुभवन चोकको नाम इतिहासको विभिन्न कालखण्डमा फेरिँदै नआएको होईन । नेपालगन्ज सहर बसेयता त्रिुभवन चोकको नाम थुप्रैपटक परिवर्तन भएको इतिहास छ । सुरुमा बजारको मुख्य चोक भएको हुँदा चोक बजार भनिन्थ्यो । पछि जुद्ध शमशेरको शालिक रहँदासम्म शालिक चोक भनियो । फेरि जुद्धको शालिक हटेपछि चोकबजार नै भन्न थालियो । २०२१ सालमा त्रिभुवनको शालिक स्थापनापछि चोक बजार पुनः त्रिभुवन चोक हुन गयो । यसबाट पनि के पनि प्रष्ट हुन्छ भने सर्वसाधारणले जुन नाम आत्मसाथ गर्छन् र अभ्यासमा ल्याउँछन् त्यो नै अन्ततः स्थापित हुन जान्छ ।

यतिबेला हालको त्रिभुवन चोकको नामाकरण के गर्ने भन्ने विषय पेचिलो बनेको छ । मत विभाजन भएको वर्तमान अवस्थामा सबैको चित्त बुझ्ने गरी नामाकरण गर्ने सम्भावना अहिल्यै भने विल्कुलै देखिँदैन । विगतमा समयक्रमसँगै फेरिँदै आएको यो चोकको नाममा दोस्रो जनआन्दोलन अघि कुनै विवाद थिएन । तर, अहिले भने अवस्था फेरिएको छ । एकले अर्कोको अस्तित्व नस्वीकार्ने र शक्तिको बलमा आफूखुसी निर्णयहरु गर्ने परिपाटी झांगिएको छ । ‘तु शेर तो मै शवा शेर’ भन्ने सोंच सबैमा व्याप्त छ । त्यसैले उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य संघले मात्रै चाहेर यो समस्या किञ्चित सुल्झने छाँट छैन ।

त्यसैले यसका निम्ती सर्वदलीय/सर्वपक्षीय सहमतिको खाँचो छ । सबैको सहमतिमा अगाडिको मार्गप्रशस्त गर्ने विधिबाट पनि यो विषयको निप्टारा लाग्दैन भने नेपालगन्जवासीलाई नै यसको जिम्मेवारी दिइँदा उपयुक्त हुन सक्छ । यसअघि पनि विभिन्न कालखण्डमा चोकको नाम परिवर्तन भएकै हो । अनि नेपालगन्जवासीले पनि आफू अनुकुल नामाकरण गरेकै हुन् । फेरि पनि नेपालगन्जवासीले नै यो चोकको नामाकरण किन नगर्ने त ? बरु सौन्दर्यकरणसहित बनाउने भनिएको नयाँ स्तम्भमा रहने शिलालेखमा यो चोक कुन कालखण्डमा के नामले चिनिन्थ्यो भनेर ईतिहास पनि उल्लेख गर्ने कि ?

तस्विरहरु : सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*