मालपोतमा किर्ते र हत्या प्रकरण : सोह्र जना जेलमा, तीन जना धरौटीमा रिहा, बाह्र जना फरार !

Posted:: (4 months ago) | April 26, 2019| 315 views

malpot-pic

मालपोत कार्यालय बाँकेमा भएको किर्ते प्रकरण र उक्त प्रकरणसँग जोडिएको एउटा हत्याकाण्डका गरी कुल १६ जना अभियुक्तहरु जेल चलान भएका छन् । तीन जना धरौटीमा रिहा भएका छन् भने १२ जना अँझै फरार छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले शुक्रबार जारी गरेको विज्ञप्ती अनुसार जुनेद अन्सारीको अपहरण गरी हत्यामा संलग्न अभियुक्तहरु खैरुल हसन अन्सारी र सज्जन सैयाद पुर्पक्षका लागि जेल चलान भएका छन् । त्यस्तै सरकारी कागज किर्ते गरी जग्गा आफन्तको नाममा श्रेस्ता कायम गरी नामसारी गर्ने कार्यमा संलग्न कर्मचारी र लेखन्दास समेत गरी १४ जना पनि जेल चलान भएको प्रहरीले जनाएको छ ।

५ नम्बर प्रदेश प्रहरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ— सरकारी वकिल कार्यालय बाँके मार्फत प्रस्तुत मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०७६।०१।१२ गतेको निर्णयबाट जुनेद अन्सारीको अपहरण गरी हत्यामा संलग्न अभियुक्तहरु खैरुल हसन अन्सारी र सज्जन सैयाद तथा सरकारी कागज किर्ते गरी जग्गा आफन्तको नाममा श्रेस्ता कायम गरी नामसारी गर्ने कार्यमा संलग्न मालपोत अधिकृत लगायत अन्य कर्मचारी र लेखन्दास समेत पुर्पक्षका लागि जेल चलान भएका छन् भने घटनामा संलग्न अन्य १ जना भारतीय नागरिक सहित १२ जना फरार रहेको हुँदा खोजतलास कार्य भईरहेको छ ।

सरकारी कागजात किर्ते सम्बन्धी मुद्दामा जोडिएका कर्मचारीहरुको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

 

यस्तो थियो घटना

मिति २०७५।१०।२१ गते साझेदारीमा जग्गाको काम गर्ने बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका–३ बस्ने खैरुल हसन अन्सारीले भारत जिल्ला बहराईज थाना मोतिपुर घर भई बाँके जिल्ला नेपालगन्ज उपमहनगरपालि– १६ जयसपुरमा डेरा गरी बस्ने जुनेद अन्सारीलाई फोन गरेर चार वाहिनी चोकमा बोलाएका थिए ।

सोही स्थानबाट अपहरण गरी भारतको बाबागंज क्षेत्रमा लगी मिति २०७५।१०।२२ गते साँझ भारत बाबागंज क्षेत्रमा जुनेद अन्सारीको एउटा हात, एउटा खुट्टा काटिएको र जल्दै गरेको अवस्थामा शव फेला परेको घटनामा प्रारम्भिक मुचुल्का लगायतको कार्य प्रहरी थाना भारत नवाबगंजबाट भएको थियो ।

जुनेद अन्सारीको श्रीमती गौरी मल्ल अन्सारीले भारत नवाबगंजमै गई शव सनाखत गरी सकेपछि २०७५।११।२३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण गरी कर्तब्य गरी मारेको सम्बन्धमा जाहेरी दरखास्त दर्ता भए पश्चात अनुसन्धान गर्दै जाँदा निज खैरुल हसन अन्सारी सहित नेपाल र भारतका अन्य ५ जनाको संलग्नतामा निज जुनेद अन्सारीलाई अपहरण गरी कर्तब्य गरी हत्या गरेको खुल्न आएको छ ।

उल्लेखित घटनाको अनुसन्धानको क्रममा खैरुल हसन अन्सारी र (मृतक) जुनेद अन्सारीले मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलि सरकारी जग्गाका सक्कल कागजातहरु आफ्नो नियन्त्रणमा लिई मालपोत कार्यालयका कर्मचारीको सेटिङमा सरकारी जग्गा आफन्तको नाममा नामसारी गराउने गरेको पाईएको छ ।

सोही क्रममा निजहरुले जिल्ला बाँके खास कारकाँदो वडा नं. ०७ को कित्ता नं. २१० को ५ कट्ठा १३ धुर, सिक्टा सिचाई आयोजनाको कम्पाउण्ड भित्रको जग्गा ९ महिना पहिला खैरुल हसन अन्सारीले सरकारी कागज किर्ते गरी आफ्नो आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी श्रेस्ता कायम गरेको, बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं. ३ कित्ता नं. १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी जुनेद अन्सारीको सासु लालि मल्लको नाममा ८ महिना पहिला जग्गा धनि दर्ता श्रेस्ता कायम गरेको, जिल्ला बर्दिया नेउलापुर गा.बि.स. वडा नं. ७ को कित्ता नं. १९१ ९(ख), ७, ८, ५०, ६१, ६३ को ६ बिगाह ३ कट्ठा १४ धुर सरकारी जग्गा ७ महिना पहिला खैरुल हसन अन्सारीको बाबुको नाममा दर्ता श्रेस्ता कायम गरी मिति २०७५।०९।१२ गते आमा हसरतुन निसा अन्सारीको नाममा नामसारी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

बाँके, बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाका श्रेस्ता (सक्कल कागजात) खैरुल हसन अन्सारी बाट जुनेद अन्सारीले आफ्नो डेरा कोठामा राख्ने गरेकोमा खैरुल हसन अन्सारीले जुनेद अन्सारीसँग उक्त जग्गाका कागजातहरु पटक पटक नष्ट गर्नका लागि माग गर्ने गरेता पनि जुनेद अन्सारीले नदिएको अनुसन्धानको क्रममा खुल्न आएपछि मृतक जुनेद अन्सारीको कोठाबाट उल्लेखित सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी भएका सक्कल कागजपत्रहरु बरामद भएका थिए ।

(५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जारी गरेको विज्ञप्ती अनुसार)

pakrau pratipadi

farar pratipadiharu

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*