राप्तीपारी चुरे क्षेत्रबाट अवैधरुपमा ढुंगा उत्खनन् : सबैतिर सेटिङ, विरोध गर्नेहरु निरीह !

Posted:: (4 months ago) | May 3, 2019| 244 views

बाँकेको राप्तीपारी क्षेत्रमा चुरे पहाडबाट अवैधरुपमा ढुंगा उत्खनन् गर्ने काम खुलेआम भईरहेको पाईएको छ । वन प्रशासन, जनप्रतिनिधि, निर्माण कम्पनी र वन उपभोक्ता समितिको प्रत्यक्ष मिलेमतोमा राप्ती सोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक बनबाट अवैध ढुंगा उत्खनन् भईरहेको हो ।

मण्डपवा सामुदायिक बन क्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुंगा उत्खनन् गर्दै राप्ती नदीमा निर्माण भईरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति, जनप्रतिनिधि र वन प्रशासनसँग सेटिङ मिलाएर अवैध ढुंगा प्रयोग गरिरहेको स्थानीयको भनाई छ ।

मण्डपवा सामुदायिक बन क्षेत्रमा पर्ने चुरे पहाडबाट दैनिक २५/३० वटा ट्रक्याटरको ट्रलीमा ढुंगा उत्खनन् भईरहेको स्थानीयले जानकारी दिएका छन् । एक ट्रलीमा करिब ४ घन मिटरसम्म ढुंगा ढुवानी हुँदै आएको छ । ठेकेदारले एक घनमिटरको अधिकतम १५ सय रुपैयाँसम्म ट्रयाक्टरवालालाई दिने गरेका छन् । जबकी अनुमति प्राप्त मुगुवा खोलाबाट ढुंगा उठाउने हो भने एक घन मिटरको कम्तिमा ४ हजार रुपैयाँसम्म पर्न आउँछ ।

यसरी अवैधरुपमा ढुंगा उत्खनन् भईरहँदा एकातिर वातवरणीय विनास भईरहेको छ भने अर्कोतिर तिर्नुपर्ने कर पनि छली भईरहेको छ ।

राप्ती सोनारी गाउँपालिका–७ मा पर्ने मण्डपवा सामुदायिक बनमा पर्ने चुरेबाट अवैधरुपमा उत्खनन् गरिएका ढुंगा ट्रयाक्टरमा लोड गरिँदै । तस्विर :अवध पोस्ट्

राप्ती सोनारी गाउँपालिका–७ मा पर्ने मण्डपवा सामुदायिक बनमा पर्ने चुरेबाट अवैधरुपमा उत्खनन् गरिएका ढुंगा ट्रयाक्टरमा लोड गरिँदै । तस्विर :अवध पोस्ट्

खल्लाझगडीयादेखि पिप्रहवासम्म राप्ती नदीमा बनिरहेको तटबन्धमा प्रयोग भएका र भईरहेको सबै ढुंगा चुरेबाट अवैधरुपमा उत्खनन् गरिएको हो । आफ्नो वडामा पर्ने वन क्षेत्रबाट भईरहेको अवैध उत्खनन् रोक्न पहल गरेपनि वडा नं. ७ का अध्यक्ष रामलखन थारु निरीह छन् । सबैतिरको मिलेमतोका कारण ढुंगाको अवैध उत्खनन् रोक्न उनले सकेका छैनन् ।

अवध पोस्ट्सँग कुरा गर्दै वडाध्यक्ष थारुले भने, ‘वन प्रशासन, सामुदायिक बन लगायतको मिलेमतोमा अ‍ैधरुपमा ढुंगा उत्खनन् भईरहेको मैले पनि थाहा पाएको छु । रोक्न खोज्दा सबैतिर सेटिङ मिलेको थाहा भयो । म एक्लैले गरेर नहुने देखियो । ’

वडाध्यक्ष थारुले अवैध काम हुन नदिउँ भन्दा कतिपयले विकास विरोधी भनेर उल्टो आरोप लगाएको गुनासो पनि गरे । उनले गाउँपालिकाले पनि अवैध ढुंगा उत्खनन् रोक्न साथ नदिँदा काम गर्न थप गाह्रो भएको बताए ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले वडा कार्यालयको सिफारिस ल्याएमा आफूले ढुंगा उत्खनन्को अनुमति दिने बताएपछि अवैध ढुंगा उत्खनन्मा सक्रिय गिरोहले निरन्तर दवाव दिईरहेको वडाध्यक्ष थारुको भनाई छ । ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत चुरे बचाउ अभियान चलेको छ । हामीले ढुंगा उत्खनन्को अनुमति दिनै मिल्दैन ।’ , अवध पोस्ट्सँग कुरा गर्दै वडाध्यक्ष थारुले भने, ‘तर वन समितिका पदाधिकारी र राजनीतिक नेतृत्वले ढुंगा उत्खनन्का लागि अनावश्यक दवाव दिईरहेका छन् ।’

थारुले ईलाका बन कार्यालय बैजापुर सेक्टरलाई अवैधरुपमा ढुंगा उत्खनन् भईरहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेपनि सुनुवाई नभएको पनि गुनासो गरे ।

मण्डपवा सामुदायिक बनका अध्यक्ष हनिफ खाँले सबैतिर सेटिङ मिलाईसकेको भन्दै विरोध गर्ने स्थानीय र जनप्रतिनिधिहरुलाई उल्टै हप्काउने गरेको बुझिएको छ । अध्यक्ष खाँले आफूले प्रहरी र बन कर्मचारीहरुलाई ५ लाख रुपैयाँ दिएर सेटिङ मिलाएको हाकाहाकी भन्ने गरेको पनि गाउँलेहरुको भनाई छ ।

राप्ती नदीमा तटबन्ध निर्माण गरिरहेको ठेकेदार कम्पनी कुमार श्रेष्ठ निर्माण सेवाले मण्डपवा सामुदायिक बन उपभोक्ता समितिलाई नगद दिने र अवैध उत्खनन् गरिएका ढुंगा तटबन्धमा प्रयोग गर्ने सहमति अनुसार नै चुरे उत्खनन् भईरहेको गाउँलेहरुको भनाई छ ।

वडाध्यक्ष थारुका अनुसार चुरे क्षेत्रबाट अवैधरुपमा ढुंगा उत्खनन् हुँदा फत्तेपुरको वडा नं. ६ र ७ को सबै बस्ती नै जोखिममा परिसकेको छ । ‘पानी प¥यो भने दुई मिनेटमै बाढी आउने अवस्था भईसकेको छ । खोलानालाको सतह बढ्दै गएको छ । भु–क्षय भएर खोला पटान भईसक्यो । अब त राप्ती नदी भन्दा पनि जंगलका खहरे खोलामा आउने बाढीले बढ्ता नोक्सान गर्ने अवस्था बनिसक्यो ।’, अवध पोस्ट्सँग कुरा गर्दै थारुले भने, ‘हुलाकी सडक पनि ठाउँ–ठाउँमा भल आएर भत्किएको प्रष्ट देखिसकिएको छ । अब पनि अवैध उत्खनन् नरोक्ने हो भने वडा नं. ६ र ७ को भविष्य खतरामा छ ।’
बाँकेको राप्तीपारी क्षेत्रमा अघिल्लो बर्षदेखि नै चुरे क्षेत्रबाट अवैधरुपमा ढुंगा उत्खनन् गर्ने काम भईरहेको हो । मुख्यगरी राप्तीनदीमा बनाईँदै गरेको तटबन्ध निर्माणका लागि अवैध ढुंगाको प्रयोग भईरहेको खुल्न आएको छ । राप्ती नदीमा कुमार श्रेष्ठ निर्माण सेवाले जनताको तटबन्ध आयोजना अन्तरगत साढे दुई किलोमिटर तटबन्ध निर्माण गरिरहेको छ । जसका लागि करिब २८ हजार घनफिट ढुंगाको आवश्यकता पर्ने अनुमान छ । त्यहाँ आवश्यक ढुंगा अहिलेसम्म चुरे क्षेत्रबाटै ढुवानी भईरहेको छ ।

बाँकेमा चुरे क्षेत्रबाट ढुंगा उत्खनन् गर्न अहिलेसम्म कसैलाई अनुमति छैन । राप्तीपारी क्षेत्रमा रहेका सरकारी ईकाईहरुसँग सेटिङ्ग मिलाएर चुरे क्षेत्रबाट लामो समयदेखि अवैध रुपमा ढुंगा उत्खनन् भईरहेकोबारे जिल्लास्थित प्रशासनिक निकायहरु पनि जानकार छन् । तर कारवाहीको तदारुकता भने अहिलेसम्म देखिएको छैन । जसले गर्दा अवैध ढुंगा उत्खनन्मा उनीहरुको पनि मिलेमतो छ कि भन्ने स्थानीयको आशंकालाई बल पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*