ब्राईटल्याण्ड स्कुलमा ८ बर्षीया बालिका कुटपिट प्रकरण : प्रिन्सिपल र शिक्षिकालाई कारबाही गरिँदै

Posted:: (4 months ago) | May 10, 2019| 406 views

कपीमा कभर (गाता) नहालेको भन्दै ३ कक्षामा अध्ययनरत ८ बर्षीया बालिकामाथि कुटपिट गर्ने ब्राईटल्याण्ड स्कुल नेपालगन्जकी शिक्षिका र घटना दवाउन भूमिका खेल्ने प्रिन्सिपल विजय लामालाई नेपालगन्ज उपमहानगरपालिकाले कारबाही गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको शिक्षा समितिले आईतबार स्कुलमै पुगेर घटनाको वास्तविकता बुझेपछि कारबाही अघि बढाउने भएको हो ।

शिक्षा समितिका सदस्य अजय कुमार पाठकले आईतबार घटनाबारे विस्तृत बुझिसकेपछि कसलाई के–कस्तो कारबाही गर्ने भन्ने टुंगो लाग्ने बताए । शिक्षा समितिका संयोजक मेयर डा. धवल शमशेर राणा बाहिर रहेका कारण आज स्कुलमा जान नसकिएको बताउँदै वडा नं. १७ का अध्यक्ष समेत रहेका पाठकले भने , ‘मेयर ज्यू काठमाडौं हुनुभएको र सम्पर्क हुन नसकेकाले हामी आज जान सकेनौं । आईतबार हामी (शिक्षा समिति) स्कुल पुगेर घटनाको यथार्थ बुझ्ने र कारबाही अघि बढाउने काम हुन्छ ।’

‘कपीमा कभर हालेन भनेर विद्यार्थीलाई निर्घात कुट्नु ठूलो अपराध हो । कभर नहालेको भए गार्जिएन (अभिभावक)लाई भन्न सकिन्थ्यो । त्यसरी नाकबाट खुनै आउने गरी कुट्न त भएन नि !’, पाठकले भने, ‘प्रिन्सिपलले पनि रियलाईज (गल्ती स्वीकार) गर्नुपर्ने ठाउँमा उल्टो बच्चीको काकालाई धम्क्याएर पठाएको विषय गम्भीर हो । बच्चा कुट्ने शिक्षिकालाई कारबाहीको साटो उल्टो गार्जियनलाई समेत दुव्र्यबहार गर्ने प्रिन्सिपललाई पनि कारबाही हुन्छ ।’

प्रतिकात्मक तस्विर (गुगलबाट)

प्रतिकात्मक तस्विर (गुगलबाट)

३ कक्षामा अध्ययनरत बालिका अनन्या शर्मामाथि शिक्षिकाद्वारा भएको कुटपिटको सर्वत्र विरोध भएको छ । अवध पोस्ट् दैनिकको अनलाईन संस्करणमा विगतमा पनि ब्राईटल्याण्ड स्कुलमा यस्ता घटनाहरु भएको भन्दै धेरैले कडा कारबाहीको माग गरेका छन् ।

विद्यार्थी संघ/संगठनहरुले पनि घटनाको विरोध गरेका छन् । नेकपा, नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरुले आईतबार ब्राईटल्याण्ड स्कुल घेराउ गर्ने र दोषीलाई कारबाहीका लागि दवाव दिने तय भएको नेबिसंघ मब क्याम्पस ईकाई अध्यक्ष सीपी देवकोटाले बताए । मब क्याम्पसका अखिल क्रान्तिकारीका उपाध्यक्ष लोकेश शाह, अखिलका सचिव प्रकाश विक नेतृत्वको टोली शुक्रबार नै घटनाबारे बुझ्न स्कुलमा पुगेपनि प्रिन्सिपलसँग भेट नभएपछि फर्किएका थिए ।

अधिकारकर्मी संघ/संस्थाद्वारा चासो व्यक्त

बालिका कुटिएको घटनाबारे यहाँका अधिकारकर्मी संघ/संस्थाले पनि चासो व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, सिविन लगायत मानवअधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरुले पनि शुक्रबार घटनाबारे चासो राखेका हुन् । उनीहरुलई पीडित बालिकाका अभिभावकसँग भेट गरेर घटनाबारे बुझेका छन् । तर प्रिन्सिपल र बालिका कुट्ने शिक्षिकासँग भने उनीहरुले भेट्न पाएनन् ।

घटनाबारे बुझ्न ब्राइटल्याण्ड स्कुल पुगेका अधिकारकर्मीहरुको टोलीमा सहभागि इन्सेकका डकुमेन्टेसन अफिसर विनोद पाण्डेका अनुसार धेरै कोशिस गर्दा पनि प्रिन्सिपल र शिक्षिकासँग भेट्न सकिएन ।

अवध पोस्ट्सँग कुरा गर्दै पाण्डेले भने , ‘गेटमा पुग्दा प्रिन्सिपल र शिक्षिका कोही पनि नभएको जानकारी सुरक्षा गार्डबाट पायौं । फोन नं. माग्दा थाहा नभएको भन्दै कसैले पनि दिन मानेनन् । विहानको स्कुल विदा पनि भईसकेको रहेछ । त्यसैले हामी फर्कियौं । आईतबार फेरि जान्छौं ।’

अनन्याका बुबा पनि नेपालगन्ज आईसकेका छन् । अनन्याका बुबा विनोद शर्माले स्कुलका प्रिन्सिपल र शिक्षिकाले गरेको गल्तीबिरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । शर्माले भने, ‘ यो घटना त्यतिकै रफादफा गर्ने पक्षमा म छैन । दोषीहरुलाई सबक सिकाउनै पर्छ । ताकि भोलिका दिनमा अनन्या जस्तै अन्य अवोध बालबालिकामाथि कुटपिट नहोस् ।’

बालिका कुट्ने शिक्षिकाको नाम स्कुल प्रशासनले बताएको छैन । तर, अनन्याले अनिता मिसले कुटेको भनेको उनका बुबा विनोदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*