नर्वदा दिदीको निधन !

Posted:: (3 months ago) | May 24, 2019| 269 views

समाजसेवी नर्वदा शर्मा खनाल (नर्वदा दिदी) को आज देहान्त भएको छ । युटेरसको क्यान्सरले एक महिना अघिदेखि थला पर्नु भएकी नर्वदा दिदीको हरिसिद्दी क्यान्सर अस्पताल ललितपुरमा उपचार चलिरहेको थियो । उहाँको निधन शुक्रबार राति करिब साढे १ बजे बजेतिर ७५ बर्षको उमेरमा भक्तपुरस्थित भाई डा. माधव खनालको निवास ग्रिनसिटी अपार्टमेन्टमा भएको हो ।
narbada
नर्वदा दिदी बाँके जिल्लामा मात्र नभएर देशैभर एउटा प्रतिष्ठित समाजसेवीका रुपमा चिनिनुहन्थ्यो । नर्वदा दिदीले आफूलाई समाजसेवामा यसरी समर्पित गर्नुभएको थियो कि सामाजिक कार्यमा समय दिन नसकिएला भनेर विवाह नै गर्नुभएन ।

सम्भ्रान्त परिवारमा जन्मिएकी नेपालगन्ज बेलासपुरकी नर्वदा दिदीले शिक्षण पेशाबाट सामाजिक कार्य थाल्नु भएको थियो । नेपालगन्जस्थित सरस्वती माबिबाट शिक्षण पेशा थालेर सामाजिक कार्यमा आफूलाई समाहित गर्नुभएकी नर्वदा दिदीले राजनीतिक, सामाजिक र व्यवसायीक क्षेत्रमा महिलाहरुको प्रवेशका लागि ढोका खोलिदिनुभएको हो भन्दा फरक पर्दैन ।

रेडक्रश, नेत्र ज्योति संघ, क्षयरोग निवारण संघ, परिवार नियोजन संघ, नारी विकास, बाल मन्दिर लगायतका संघ/संस्थामा नेतृत्वदायी भूमिकामा रहेर सामाजिक कार्यमा सक्रिय रहनुभएकी नर्वदा दिदी अतुलनीय महिला भएको नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोबर्धन सिंह सम्झनाको बुझाई छ ।

narvada sharma didi‘म उहाँलाई एउटा महान् महिलाको संज्ञा दिन्छु । जसको सामाजिक क्षेत्रमा कसैसँग पनि तुलना नै हुन सक्दैन । विभिन्न सामाजिक संघ/संस्थामा आबद्ध भएर वा नभएरै पनि उहाँले हाम्रो समाजको उत्थानमा अतुलनीय योगदान पु¥याउनु भएको छ ।’, रेडक्रश बाँकेका अध्यक्ष सम्झना नर्वदा दिदीलाई सम्झँदै अगाडि भन्नुहुन्छ, ‘एउटा सम्भ्रान्त घरमा जन्मनुभएकी नर्वदा दिदीले चाहेको भए सुखसैल गरेरै जीवन विताउन सक्नुहन्थ्यो । तर समाज परिवर्तनका लागि भनेर उहाँले दुःख कष्ट पनि सहर्ष स्वीकार्नु भयो । सामाजिक क्षेत्रमा लाग्दा पाएको सन्तुष्टिका अगाडि उहाँले गर्नुभएको दुःख नै विर्सनुहुन्थ्यो ।’

नेपाल रेडक्रश सोसाईटीका केन्द्रीय उपाध्यक्ष अजीत कुमार शर्मा पनि नर्वदा दिदीलाई आफ्नो प्रेरणाको श्रोत ठान्नुहुन्छ । शर्मा आफूलाई २०३२ सालमा नेपाल रेडक्रस सोसाईटीमा आबद्ध गराएको श्रेय पनि नर्वदा दिदीलाई नै दिनुहुन्छ । आफ्नो जीवनमै नर्वदा दिदी जस्तो साहसी र दृढ संकल्प भएको महिला नभेटेको पनि उहाँको भनाई छ । ‘उहाँ (नर्बदा दिदी) जत्तिको आत्मबल र दृढ संकल्प भएको साहासी महिला मैले आफ्नो जीवनमै अहिलेसम्म भेटेको छैन ।’, शर्माले भन्नुभयो, ‘उहाँ जस्तो समाजिक अभियन्ता संसारमै विरलै होलान् ।’

बाँके जिल्लामा सामाजिक संघ/संस्थाको स्थापनामा अमूल्य योगदान पु¥याउनुभएकी नर्वदा दिदीको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*