सहकारीको आर्थिक अपचलन प्रकरण : पाठक फर्किए, आफूलाई फसाईएको दाबी

Posted:: (2 weeks ago) | June 4, 2019| 514 views

सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जमा भएको भनिएको करिब २६ करोड रुपैयाँ अपचलनका मुख्य आरोपी संस्थाका बैंकिङ प्रबन्धक अरुणकुमार पाठकले आफुलाई फसाइएको दावी गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा मंगलवार पत्रकारहरुसँग कुरा गर्दै पाठकले आफूले बाहिर प्रचार गरिएजस्तो सहकारीको २२ करोड रकम अनियमितता नगरेको दावी गरे । जेष्ठ ५ गतेदेखि फरार भएका पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुमाझ आफ्ना कुराहरु राखेपछि प्रहरी समक्ष आत्मसमपर्ण गरेका थिए ।
sahakari

पाठकले आफूलाई परिवन्दमा पारेर धोकाधडीपूर्ण तरिकाले संस्थाको संचालक समितिले २२ करोडको कागज गराएको पनि जिकिर गरेका छन् । ‘मैले यति ठूलो रकम अनियमितता गरेकै छैन । निष्पक्ष छानबिन होस् त्यसपछि मेरो हिस्सामा जति रकम देखापर्छ म फर्काउन तयार छु ।’, पाठकले भने ।

कसले कति रकम अपचलन गरेको हो भन्ने प्रश्नको जवाफ दिँदै पाठकले त्यो छानबिनपछि मात्र थाहा हुने बताए । संस्थाका संचालक समितिका अध्यक्ष हरदेव बक्स चौधरी, प्रमुख प्रबन्धक गोपाल भण्डारी पनि आर्थिक अपचलनमा प्रत्यक्ष संलग्न भएको समेत पाठकले दाबी गरेका छन् ।

‘मैले यस संस्थामा विभिन्न पदमा रही कार्य गर्ने क्रममा संस्थामा बीच–बीचमा नराम्रा अवस्थाहरु यसअघि पनि नआएका हैनन् । विभिन्न समयमा आईपरेका बाधा व्यवधानबारे अध्यक्ष हरदेव बक्स चौधरी तथा कार्यरत कर्मचारीहरु प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रबन्धक गंगाधर सुवेदी तथा संचालक समितिका सबै सदस्य ज्यूहरुलाई जानकारी नभएको होईन ।’, पाठकले विज्ञप्तीमार्फत भनेका छन्, ‘संस्थामा देखिएको आर्थिक दुरावस्थाबारे म स्वयम्ले कयौं पटक आ–आफ्नो दायित्वभित्र पर्ने हरहिशाब मिलान गर्न संचालक समिति र कर्मचारीहरुलाई ताकेता गरेकै हो । तर समस्याग्रस्त संस्थालाई सुधार्नेतर्फ जिम्मेवार चासो नदेखाएको बरु उल्टो सबै स्वयम्को दायित्वबाट पन्छिएर आफू चोखिने तानावान बुन्नमै तल्लिन भएको स्पष्ट पार्न चाहन्छु ।’

आफूलाई संचालक समितिले बैशाख १ गते नै जबरजस्ती कोठामा थुनेर २२ करोड रुपैयाँ अनियमितता गरेको भन्ने कागज बनाएको पनि पाठकको भनाई थियो । जहाँ परिवारका सदस्यहरुसँग सम्पर्क गर्न नदिएको र साक्षी पनि राख्न नदिईएको पनि पाठकले बताए । पाठकले सकारेको भनिएको करिब २२ करोड रुपैयाँको कागजमा साक्षीको नाम नै उल्लेख छैन ।

यति ठूलो रकम आफूले अपचलन नगरेको र जालझेलपूर्ण तरिकाले आफूलाई फसाईएपछि भारततिर भागेको बताएका पाठकले परिवारका सदस्यहरुलाई आफ्नो कारणले अप्ठेरो परेको भन्ने जानकारी पाएपछि फर्किएको बताए । संस्थाका सञ्चालक समिति र अन्य कर्मचारीलाई पनि आर्थिक अपचलनमा मुछेका पाठकले विज्ञप्तीमार्फत भनेका छन्, ‘संस्थाका अध्यक्ष हरदेव बक्स चौधरी संस्थामा भएको अपचलनबारे लामो समयदेखि जानकार नै थिए । संस्थामा भएको अपचलनबारे थाहा पाएपछि संचालक समितिको जिम्मेवार पदाधिकारीको हैसियतले सुधार्नेतर्फ केन्द्रित हुनुपर्नेमा उल्टो त्यसैलाई आधार बनाएर ब्ल्याकमेलिङ गर्दै मासिकरुपमा पैसा बुझ्ने गरेको पनि म प्रष्ट पार्न चाहन्छु ।’

संचालक समितिका अध्यक्ष चौधरीले महिनावारीरुपमा आफूसँग १ लाख रुपैयाँ लिने गरेको र विभिन्न समयमा २ लाख, ४ लाख, ५ लाख आवश्यक प¥यो भनेर लग्ने गरेको पनि पाठकले बताए । आफूमाथि अरुको दायित्व र अरुले अपचलन गरेको रकम पनि थोपरिएको बताएका पाठकले संस्थाले बोर्डबाट पारित नै नगरेर अवैधानिकरुपमा सन्ध्याकालिन काउण्टरसमेत चलाएको पनि बताए ।

सहकारीको रकम हिनामिना भएपछि गठन गरिएको छानविन समितिको प्रतिवेदनअनुसार प्रबन्धक पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सुर्यकुमार विकले ६४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*