अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताबाट खेलाडीको पहिचान गर्न सफल भयौं : अर्याल

Posted:: (1 month ago) | June 17, 2019| 364 views

नेपालगन्जमा द ग्रुप अफ सिक्स्टिन युथ क्लबले पहिलो पटक अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको आयोजना ग¥यो । नगरभित्रका सबै वडाहरुलाई समेटर यति बृहत्रुपमा प्रतियोगिता आयोजना गर्नु पक्कै पनि चानचुने कुरो थिएन । प्रतियोगिता समापनको संघारमै छ । प्रतियोगिता आयोजना किन गर्नु प¥यो त ? प्रतियोगिताको आयोजनाको उद्भव कसरी भयो ? प्रतियोगिताका लागि क–कसले कस्तो सहयोग गरे ? र, यो प्रतियोगिताको उपादेयता के त ? यिनै सेरोफेरोमा हामीले आयोजक द ग्रुप अफ सिक्स्टिन युथ क्लबका अध्यक्ष विष्णु प्रसाद अर्यालसँग कुराकानी गरेका छौं ।

64775335_820777574961451_614633047240736768_n

विष्णु प्रसाद अर्याल, अध्यक्ष, द ग्रुप अफ सिक्स्टिन युथ क्लब

अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने सोंच कसरी आयो ?

धेरै लामो समयदेखि नेपालगन्जमा सिनियर खेलाडीहरुले आफ्नो क्षमता देखाउने किसिमका क्रिकेट प्रतियोगिताहरु आयोजना हुन सकेको थिएन । जतिपनि प्रतियोगिताहरु भईरहेका थिए— ति सबै स्कुल लेभलमै सिमित थिए । त्यसैले सिनियर खेलाडीहरु सहभागि हुन पाउने र उनीहरुले आफ्नो क्षमता प्रदर्शन गर्न पाउने किसिमको प्रतियोगिता आयोजना गर्नु अत्यावश्यक भईसकेको थियो ।

यही सन्दर्भमा हामी द ग्रुप अफ सिक्स्टिनका सदस्यहरुले छलफल ग¥यौं । आयोजक टिमका सदस्य तरुन बज्राचार्य जो वडा नं. १२ का सदस्य पनि हुनुहुन्छ । प्रतियोगिता आयोजना गर्ने भनी छलफलकै चरणमा रहेका बेला हामी वडा नं. १२ का अध्यक्ष बुद्धिसागर सुवेदीसँग यस विषयमा छलफल ग¥यौं । उहाँले हामीलाई सकारात्मक सुझाव त दिनुभयो नै साथसाथै आर्थिक सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । त्यसपछि क्रमशः वडा नं. १०, ११ र ७ का वडाध्यक्षहरुले पनि हामीलाई सकारात्मक सुझावसहित आर्थिक सहयोग पनि उपलब्ध गराउने तत्परता देखाउनुभयो । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाले पनि हामीलाई सहयोग ग¥यो । जसले हामीलाई प्रतियोगिता गर्न थप हौस्यायो ।

त्यस्तै वडाहरुमा विभिन्न खेलाडीहरुले खेल्न पाउनुप¥यो भन्ने माग हामीले सुन्दै आएका थियौं । उनीहरु सहित सवै वडाका खेलाडीहरुको पहिचान गर्न पनि यो प्रतियोगिताले मद्दत पुग्ने देखिएपछि हामी जसरी पनि प्रतियोगिता आयोजना गर्ने निष्कर्षमा पुग्यौं । सहभागिताका हिशाबले पनि यो प्रतियोगिता अत्यन्तै सकारात्मक भएको हामीले महशुस गरेका छौं ।

प्रतियोगिता आयोजना गर्न कहाँ कहाँबाट सहयोग प्राप्त भयो ?

वडा नं. १२ , वडा नं. १०, ११ र ७ ले त हामीलाई आर्थिक सहयोग नै गरे । १२ ले साढे २ लाख र अन्य तीन वडाले १÷१ लाख सहयोग गरे । अनि नेपालगन्ज उपमहानगरपालिकाले पनि खेलाडीहरुको ड्रेसका लागि आर्थिक सहयोग र खेल मैदान मरम्मत गर्न भौतिक सहयोग उपलब्ध गराएको थियो । त्यस्तै प्रायोजकहरुबाट पनि हामीले अपेक्षाकृत सहयोग प्राप्त ग¥यौं ।

तुलनात्मकरुपमा हामीले दाता र प्रायोजकहरुबाट विगतमा यहाँ आयोजना हुने प्रतियोगितामा भन्दा केही बढ्तै सहयोग पाएको हामीले महशुस गरेका छौं । हाम्रो आयोजक टीमको एकता र कामप्रतिको समपर्णण देखेर नै उहाँहरुले हामीलाई सहयोग उपलब्ध गराउनुभएको हो भन्ने हामीलाई लागिरहेको छ ।

प्रतियोगिता आयोजना गर्दा यहाँको समग्र क्रिकेट खेलका लागि उपलब्धी के भयो त ?

वडाभित्र रहेका खेलाडीहरुको पहिचान गर्नु र उनीहरुलाई अवसरको सृजना गरिदिनु हाम्रो मुख्य अभियान हो । वडाभित्रका राम्रा खेलाडीहरुको पहिचान गराउन प्रतियोगिता सफल साबित भएको छ । प्रतियोगितापछि कुन वडामा कति र कस्ता खेलाडी छन् भन्ने क्रिकेट सम्बद्धहरुलाई पनि जानकारी भएको छ ।

भोलिका दिनमा कुनै प्रतियोगिता आयोजना गर्दा यो टुर्नामेन्टमा सहभागि खेलाडीहरुलाई अवसर दिने बाटो खुलेको छ । खेलमा कमजोर देखिएका वडाहरुलाई के–कसरी सुधार्ने भन्नेतर्फ पनि प्रतियोगिताले सघाउ पुगेको छ । त्यस्तै राम्रा खेलाडीहरुले भविष्यमा हुने यी र यस्ता प्रतियोगिताका अलावा अन्य प्रतियोगितामा अवसर जुराईदिन पनि यो प्रतियोगिता सफल भएको हामीलाई महशुस भएको छ ।

ठूलो पुरस्कार राशीको प्रतियोगिता भएकाले खेलाडीहरुको मनोबल पनि उकासिएको छ । उनीहरु आउँदा दिनमा खेलप्रति थप समर्पित हुन यसले सघाउ पु¥याउने छ ।

कतिपय वडामा राम्रा खेलाडीहरुले नै खेल्न पाएनन् भन्ने गुनासो पनि सुनियो ? खेलाडी छनौट कसरी गरिएको थियो र ?

छनौटका लागि हामीले वडा कार्यालयलाई नै जिम्मा दिएका थियौं । सोही अनुसार वडाहरुले खेलाडी छनौट गरेर पठाएका हुन् । छनौटका सन्दर्भमा आयोजकको खासै भूमिका थिएन । वडाले गरेको सिफारिस अनुसार नै हामीले टीम दर्ता गरेका हौं ।

यतिधेरै क्रिकेट खेलाडीहरु भएको नगरमा सबैले खेल्न नपाएको पनि हुनसक्छ । तर हामीले सबैलाई समेट्ने सक्दो प्रयत्न भने गरेका हौं । कोही कतै छुटेको भए त्यसलाई नियतवस नभई प्राविधिक कारणले भएको भन्नेरुपमा बुझ्नु पर्छ ।

अधिकतम खेलाडी प्रतियोगितामा खेल्न पाउन् भन्नका खातिर हामी आगामी बर्ष धेरै खेलाडी भएमा एउटा वडाबाट दुई वटासम्म टीमलाई पनि सहभागि गराउने कि भन्नेतर्फ पनि सोचिरहेका छौं । जे होस् आगामी बर्ष हामी धेरैभन्दा धेरै अनि राम्रा खेलाडीहरु प्रतियोगितमा सहभागिता हुनबाट बञ्चित नहुने वातावरण बनाउने छौं ।

प्रतियोगिताबारे कुन–कुन क्षेत्रबाट के–कस्तो प्रतिक्रिया पाउनुभयो त ? नेपालगन्जबासी अनि क्रिकेटसम्बद्धहरुले यो प्रतियोगितालाई कसरी लिएका रहेछन् त ?

क्रिकेटसम्बद्ध सबैबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । यस्तो चर्को घाममा पनि दर्शकहरुको जुन उल्लेख्य उपसस्थिति देखियो त्यसलाई हामीले यो प्रतियोगिताको सफलता भनेर मापन गरेका छौं । प्रतियोगितामा खेलाडीहरुले देखाएको उत्साह र अनुशासनलाई पनि हामीले सकारात्मक प्रतिक्रियाका रुपमा लिएका छौं । क्रिकेटसम्बद्ध, अफिसियल सबैतिरबाट प्रतियोगिता सफल बनाउन स्वस्फूर्तरुपमा हामीले सुझावहरु पायौं । जसले आगामी दिनहरुमा थप राम्रोसँग प्रतियोगिता आयोजना गर्न हामीलाई हौसला मिलेको छ । सबैको सुझावका आधारमा आगामी बर्षदेखि हामी लेदर बलले प्रतियोगिता गराउने भएका छौं ।

अन्तमा, प्रतियोगिता आयोजना खर्च कसरी जुटाउनुभयो ?

मैले पहिल्यौ पनि भने— वडा कार्यालय, उपमहानगरपालिका र प्रायोजकहरुले हामीलाई प्रायप्त सहयोग गरे । करिब साढे १० लाख रुपैयाँको हाम्रो बजेट हो । त्यसैभित्र रहेर हामीले प्रतियोगिता आयोजना ग¥यौं । हामीले प्रतियोगिता आयोजनाका लागि अनुमानित आवश्यक रकम जोहो गर्न सफल भएका छौं । अहिले नै यति खर्च भयो भनेर भन्न हामीले हिशावकिताब गरिसकेका छैनौं । चाँडै नै प्रतियोगिताको खर्च विवरण हामी सार्वजनिक गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*