१७ नं. वडाबासीको सुझाव : विद्यालय र वडा कार्यालय छुट्टाछुट्टै राख

Posted:: (4 months ago) | June 22, 2019| 280 views

नेपालगन्ज वडा नं. १७ का वासिन्दाले कृषि, स्वास्थ्य, शिक्षासँगै भैतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राख्न सुझाएका छन् । आगामी आर्थिक बर्षका लागि वडाको योजना तर्जुमा गर्न शनिबार परसपुरमा आयोजित भेलाका सहभागि स्थानीयले सबैभन्दा बढी कृषिसँग सम्बन्धित योजनाहरु अघि सारेका छन् ।

कृषि व्यवसाय बढ्ता हुने वडा नं. १७ का वासिन्दाले सिचाइँका लागि विद्युत लाईनको विस्तार, बोरिङ, बीऊबिजन लगायतको उपलब्धताका लागि कार्यक्रम बनाउन सुझाव दिएका छन् । भेलामा सय भन्दा बढी योजनाहरु प्रस्ताव भएकामा ५० भन्दा बढी कृषिसँग सम्बन्धित रहेको वडा नं. १७ का अध्यक्ष अजय कुमार पाठकले जानकारी दिए ।

wada bhela _17

स्वास्थ्यतर्फ दक्ष चिकित्सकको व्यवस्था, स्वास्थ्य केन्द्रहरुमा औषधिको सहज उपलब्धताको व्यवस्था गर्न पनि वडावासीहरुले माग गरेका छन् । त्यस्तै वडामा एउटा बर्थिङ सेन्टर (प्रजनन् केन्द्र) पनि अत्यावश्यक रहेको भन्दै जसरी पनि आउँदो बर्षको कार्यक्रममा यसलाई समेट्न वडावासीहरुले सुझाएको पनि पाठकले बताए ।

शिक्षातर्फ विद्यालयका भौतिक संरचनाको स्तरोन्नती, कतिपय विद्यालयमा थप भवन निर्माण लगायतका योजना पनि आगामी बर्षको कार्यक्रममा समेट्न सुझाईएको छ । वडा कार्यालय र विद्यालय भवन सँगै हुँदा अहिले अध्ययनअध्यापनमा समस्या भएको भन्दै वडा कार्यालय त्यहाँबाट सार्न पनि समुदायले माग गरेका छन् । अहिले श्री ज्ञानसागर माध्यामिक विद्यालय परिसरमै वडा कार्यालय संचालनमा रहेको छ ।

विद्यालय र वडा कार्यालय सँगै हुँदा एकातिर विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई डिस्टर्ब भईरहेको छ भने अर्कोतिर वडा कार्यालयले पनि सहजतापूर्वक गोष्ठि, भेला लगायत अन्य कार्यक्रमहरु गर्न पाएको छैन ।

युवाहरुले वडामा एउटा खेल मैदान अत्यावश्यक रहेको भन्दै नगरस्तरीय योजनाबाट भएपनि खेल मैदान निर्माण गर्ने कार्यक्रम समाविष्ट गर्नुपर्ने योजना अघि सारेका छन् । त्यस्तै लक्षित वर्गको कार्यक्रम अन्तरगत सिलाईकटाई तालिम, अगरवत्ति बनाउने तालिम, चाउमिन बनाउने तालिम, च्याउ खेती लगायतका योजना पनि तय गर्न स्थानीयले सुझाएका छन् ।

त्यस्तै लाहुरे टोलका बासीन्दाले कम भोल्टेजको विद्युतका कारण समस्या भएको भन्दै भोल्टेजको समस्या समाधान गर्ने गरी योजना बनाउन सुझाएका छन् । वडाध्यक्ष पाठकले नेपालगन्ज उपमहानगरपालिकाले दिएको करिब १ करोड रुपैयाँको सिलिङभित्रै रहेर आवश्यकताका आधारमा योजनाहरु प्राथमिकिकरण गरिने जानकारी दिए ।

वडाबाट गर्न सम्भव नहुने ठूला योजनाहरुका लागि नगरस्तरीय, प्रदेश र संघीय सरकारसँग सहयोगको माग राख्दै योजनाहरु तय गरिने पनि वडाध्यक्ष पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*