सामाजिक सद्भावमा साइक्लिस्टहरुको सहकार्य !

Posted:: (1 month ago) | July 18, 2019| 211 views

फरक–फरक धार्मिक समुदायलाई आपसमा जोड्दै सामाजिक सद्भाव अभिबृद्धि गर्ने उद्देश्यसहित नेपालगन्ज कोरा साइक्लिङ अर्थात साइकलबाट धार्मिकस्थलहरुको परिक्रमा गरिने भएको छ । हिन्दू, मुस्लिम, बौद्ध, शिख इशाइ समुदायका नेपालगन्जस्थित धार्मिकस्थलसम्म पुगेर एक–अर्काको धर्म, संस्कृति, रितिरिवाज र परम्पराबारे जानकारी आदान–प्रदान गर्न कोरा (परिक्रमा) साइक्लिङ सहयोगी सिद्ध हुने आयोजक नेपालगन्ज साइक्लिङ क्लबको विश्वास छ ।

आयोजक साइक्लिङ क्लबले बिहीबार पत्रकार सम्मेलन गरी यही शनिबार बिहान साढे ६ बजे न्यूरोडस्थित बौद्ध गुम्बाबाट नेपालगन्ज कोरा सुरु हुने जानकारी दियो । नेपालगन्ज कोरामा १ सय ५० जनाभन्दा बढी साइक्लिस्ट (साइकल चालक) सहभागि हुने नेपालगन्ज कोराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोजक साइक्लिङ क्लबका उपाध्यक्ष लवराज श्रेष्ठ (बायाँ) र कार्यक्रम संयोजक सतिश निरौला । तस्विर : अवध पोस्ट्

पत्रकार सम्मेलनमा आयोजक साइक्लिङ क्लबका उपाध्यक्ष लवराज श्रेष्ठ (बायाँ) र कार्यक्रम संयोजक सतिश निरौला । तस्विर : अवध पोस्ट्

नेपालका ठूला सहरहरु काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, धरानमा गरिँदै आएको यस्तो कोरा (परिक्रमा) कार्यक्रम नेपालगन्जमा पहिलो पटक आयोजना हुन लागेको हो । ‘नेपालगन्जमा नियमित साइक्लिङ गतिविधिमा तीब्रता आएसँगै गरिँदै आइएका साइक्लिङसँग जोडिएका विभिन्न कार्यक्रमहरुको उपक्रम नै नेपालगन्ज कोरा–२०१९ रहेको संयोजक निरौलाले बताए ।

नेपालगन्ज कोरामा १० बर्षदेखि ६५ बर्षसम्मका साइक्लिस्टहरु सहभागि हुँदैछन् । नेपालगन्ज कोरामा सहभागि हुन चाहने विद्यार्थीहरुका लागि सय रुपैयाँ प्रवेशशुल्क राखिएको छ भने अन्यलाई ३ सय रुपैयाँ । त्यस्तै कायर्कक्रममा साहसिक पारा साइक्लिस्ट यमलाल रसाइली कैलालीका साइक्लिस्ट भरतबिक्रम शाह, दाङ साइक्लिङ संघका अध्यक्ष रेशम केसी, अधिकारकर्मी, व्यवसायी, वकिल, पत्रकार, चिकित्सकहरु पनि सहभागि हुँदैछन् ।

बौद्ध गुम्बाबाट सुरु हुने नेपालगन्ज कोरा (परिक्रमा) का साइक्लिस्टहरु हुलाक कार्यालय नजिकैको त्रिमुर्ति मन्दिर, धम्बोझिस्थित गायत्री मन्दिर, कारकाँदोको कृष्ण मन्दिर, जामा मस्जिद, ज्योति चर्च, गुरुद्वारा, चौलिकास्थित मजार लगायतका ३० धार्मिकस्थलहरु सम्म पुग्ने छन् । जसको दुरी करिब ३० किलोमिटर रहने संयोजक निरौलाले जानकारी दिए ।

विभिन्न धर्मका धार्मिक गुरुहरु समेत सहभागि हुने भनिएको यो कार्यक्रमबाट संकलन हुने रकम साइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेपालगन्जका गोबिन्द रिजालका नाबालक छोराको पढाई खर्चका लागि उपलब्ध गराइने छ ।

 

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*