एक बर्षमा ९९ वटा ठूला दुर्घटना : सातामा एक जनाको मृत्यु, तीन जना घाइते !

Posted:: (1 month ago) | July 18, 2019| 122 views

बाँकेमा प्रत्येक हप्ता सरदर २ वटा सवारीसाधन ठूला दुर्घटनामा पर्ने गरेका छन् । दुर्घटनामा प्रत्येक हप्ता कम्तिमा १ जनाको मृत्यु अनि ३ जना गम्भीर घाइते हुने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको रिपोर्ट अनुसार अघिल्लो आर्थिक बर्षमा बाँकेमा ९९ वटा ठूला दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ६० जनाको मृत्यु भएको छ भने १ सय ७५ जना गम्भीर घाइते र ८६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको रिपोर्टमा उल्लेख छ ।

accident

दुर्घटनाका प्रमुख कारणमा चालकको लापरवाही र तीब्र गति रहेको रिपार्टमा औंल्याइएको छ । ९९ ठूला दुर्घटनामध्ये तीब्र गतिका कारण ३९ वटा, चालकको लापरवाहीका कारण ३९ वटा, ओभरटेक गर्दा ७ वटा, मापसे गरेर सवारीसाधन चलाउँदा ५ वटा, खराब सडकका कारण ४ वटा, छाडा चौपायाका कारण ३ वटा र यान्त्रिक कारणले २ वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

तीस हजारभन्दा बढी सवारीसाधन कारबाहीमा !

अघिल्लो आर्थिक बर्षमा ट्राफिक प्रहरीले ३० हजार ५ सय ६३ सवारीसाधनलाई कारबाही गरेको छ । जसबाट १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको पनि ट्राफिक प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा मापसे कारबाहीमा १ सय ८९ जना परेका छन् भने १ सय ७७ जना नो हर्नको कारबाहीमा परेका छन् । त्यस्तै ट्राफिक कम्युनिकेसन एप्सको मद्दतमा १ सय २३ सवारीसाधनलाई कारबाही गरिएको छ ।

त्यस्तै सवैभन्दा बढी दुर्घटना साँझ ६ बजेदेखि राति १२ बजेको बीचमा हुने गरेको र त्यसपछि दिउँसो १२ बजेदेखि साँझ ६ बजेको बीचमा हुने गरेको पनि ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीको रिपोर्ट अनुसार ९९ ठूला दुर्घटनामध्ये साँझ ६ बजेदेखि १२ बजेको अवधिमा ४३ वटा र दिउँसो १२ बजेदेखि ६ बजेको बीचमा ३५ वटा भएको छ ।

जिल्लाको ट्राफिक व्यवस्थापनमा देखिएका मुख्या समस्यामा जनशक्तिको कमी, सडक विस्तार नहुनु, वैज्ञानिक श्रोतसाधनको कमी, चालक, तथा यात्रीमा जनचेतनाको कमी, यातायात व्यवसायीमा प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र फितलो कारबाही लगायतलाई औंल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*