समन्वय समितिलाई टेरेनन् जनप्रतिनिधिले : संयोजक श्रीवास्तवद्वारा खेद व्यक्त !

Posted:: (5 months ago) | July 26, 2019| 226 views

बाँकेका जनप्रतिनिधिहरु एक–अर्कोले गरेका राम्रा कामको अनुशरण गर्ने, विगतका कमि कमजोरीहरुको समीक्षा गर्ने र आपसमा समन्वय गर्दै विकास निर्माणमा हातेमालो गर्ने सवालमा विल्कुलै उदासिन भएको पाइएको छ । शुक्रबार नेपालगन्जमा जिल्ला समन्वय समितिले गत आर्थिक बर्षमा यहाँका स्थानीय तहहरुले गरेका कामको समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा देखिएको न्यून उपस्थिति र गतिविधिले जनप्रतिनिधिहरुको उदासिनता प्रष्टिएको हो ।

आर्थिक बर्ष २०७५/०७६ को बार्षिक समीक्षा कार्यक्रम शुक्रबार बिहान १० बजे तय गरिएको थियो । तर स्थानीय तहका जनप्रतिनिधिहरुको न्यूनतम उपस्थिति कुर्दाकुर्दै १२ बज्दासम्म पनि कार्यक्रम सुरु हुन सकेको थिएन । १२ बजेसम्म कुनै पालिकाका प्रमुख आएका थिएनन् भने कुनै पालिकाका उपप्रमुख आएका थिएनन् । कुनै पालिकाका त प्रमुख/उपप्रमुख दुवै अनुपस्थित थिए । बाँके जिल्लाबाट संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने १४ जना सांसदमध्ये त झन् कोही पनि उपस्थित नै भएनन् ।

जनप्रतिनिधिहरुकै मुख्य भूमिका रहने बर्षिक समीक्षा कार्यक्रम उनीहरुकै निष्क्रिय उपस्थितिकाबीच आयोजना भने गरियो । आयोजक जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले सांसद र जनप्रतिनिधिहरुले समीक्षात्मक कार्यक्रममा देखाएको उदासिनताप्रति तीब्र आक्रोस पोखे ।

samanya samiti barsik samikchha (3)

संघीय र प्रदेशका सांसदहरु कोही पनि उपस्थित नभएकोमा उनको सवैभन्दा बढी आक्रोश थियो । श्रीवास्तवले कार्यक्रमको सुरुवातमै अनुपस्थित सांसदहरुप्रति खेद प्रकट गरे । ‘यो (समीक्षात्मक बैठक) पनि स्थानीय तहको संसद जस्तै हो । सांसदहरु यसका सदस्य हुन् । समन्वय समितिको कार्यविधिमा संघ र प्रदेशका सदस्यहरु पनि उपस्थित हुनुपर्ने व्यवस्था छ ।’, श्रीवास्तवले भने, ‘तर उहाँहरु बार्षिक समीक्षामा उदासिन हुनुभएको देख्दा दुःख लाग्यो । म उहाँहरुप्रति खेद प्रकट गर्न चाहन्छु ।’

उनले नेपालगन्जकी उपमेयर उमा थापा मगरलाई समीक्षा कार्यक्रममा आउन निम्तो गर्दा नकारात्मक व्यवहार देखाएको टिप्पणी पनि गरे । श्रीवास्तवले भने, ‘मैले उहाँलाई निम्तो दिएको थिएँ । तर उहाँले सिधै आउँदैन भनिदिनुभयो ।’ मेयर डा. धवल शमशेर राणाले पनि आफू काठमाडौंमा रहेकोले आउन नसक्ने जवाफ दिएको श्रीवास्तवले बताएका थिए ।

samanya samiti barsik samikchha (1)

उपमेयर मगरले आफूलाई औपचारिक निमन्त्रणा प्राप्त नभएको भन्दै आउन इन्कार गरेको जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्तीले जानकारी दिए । घर्तीले भने, ‘हामीले सबै स्थानीय तह र सांसदहरुलाई निमन्त्रणा गरेका थियौं । र, फोनबाट पनि जानकारी गराएका थियौं । तर उपमेयर ज्यूले आफूले निमन्त्रणापत्र नपाएको भनेर कार्यक्रममा आउन नसक्ने जानकारी दिनुभयो ।’

समीक्षाका लागि पुगेका स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई पनि कार्यक्रम सुरु नहुँदै कतिवेला निस्कने भन्ने हतार देखिन्थ्यो । कार्यक्रम ढिलो गरी सुरु भएको भन्दै जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव कार्यक्रमको सुरुवातमै निस्किए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति पनि आफ्नो गाउँपालिकाको प्रगति प्रतिवेदन पेश नहुँदै निस्किए ।

कोहलपुरका मेयर त आउँदै आएनन् । उपमेयर सञ्जु कुमारी चौधरी कार्यक्रम आधा भइसकेपछि पुगेकी थिइन् ।

राप्ती सोनारी गाउँपालिकाका प्रमुख र उपप्रमुख ढिला गरी आएका थिए । प्रमुख केहीबेर बसेर निस्किए भने उपप्रमुख कार्यक्रम अवधिभर बसेकी थिइन् । स्थानीय तहका अधिकांश प्रमुख प्रशासकीय अधिकृतहरु पनि कार्यक्रममा आफ्नो पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि बाहिरिएका थिए ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्ने तालिका पनि आयोजक समन्वय समितिले गरेको कार्यान्वयन भएन । सबैले आफ्नो पालिकाको प्रतिवेदन पहिले प्रस्तुत गर्नका लागि तछाडमछाड गरिरहेका थिए । कतिले कार्यक्रम संचालक जिल्ला समन्वय समितिका सदस्य घर्तीलाई भनसुन गरिरहेका थिए ।

सुरुमा घर्तीले डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद धिताललाई वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतिका लागि बोलाएका थिए । तर नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले आफूलाई सुरुमा प्रस्तुति गर्न दिन माग गरे ।

प्रस्तुतिका लागि पुगिसकेका डुडुवा गाउँपालिकाका धिताललाई पछाडि पारेर घर्तीले प्याकुरेललाई प्रगति प्रतिवेदन प्रस्तुत गर्न बोलाए । जसमा डुडुवा गाउँपालिकाकी उपपमुख साहिदा बानोले विरोध जनाइन् । ‘हामी सुरुमै आएर बसिरहेका छौं । पछि आएकाले सुरुमै पाउने ?’, बानोले विरोध प्रकट गरिन् । तर उनको विरोधको सुनुवाई भएन । प्याकुरेलले सरर्र प्रगति विवरण वाचन गरे अनि कार्यक्रमबाट निस्किए ।

samanya samiti barsik samikchha (2)

बैजनाथ गाउँपालिकाले हातैले लेखेर ल्याएको प्रगति प्रतिवेदन प्रस्तुत ग¥यो । अरुले भने धन्न प्रोजेक्टरमार्फत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सबैले प्रगति प्रतिवेदन प्रस्तुत गरे । तर प्रगति प्रतिवेदनमाथि जिज्ञासा राख्ने वा सुझाव दिने मौका भने कुनै पनि प्रस्तुतकर्ताले दिएनन् । सबैलाई कार्यक्रम सकाएर जानुपर्ने हतारो जो थियो !

स्थानीय तहको असहयोगले अनुगमन निष्प्रभावी

जिल्ला समन्वय समितिलाई स्थानीय तहहरुले बार्षिक योजना, योजनाहरुको लगत इस्टिमेट लगायत बार्षिक कार्यक्रमहरु पठाउनुपर्ने कानुनी व्यवस्था छ । तर यहाँका कुनै पनि स्थानीय तहहरुले अघिल्लो बर्ष बार्षिक योजनाहरु नै पठाएका थिएनन् । जसका कारण जिल्ला समन्वय समितिले यहाँका स्थानीय तहमा भइरहेका कामहरुको अनुगमन नै प्रभावकारी रुपमा गर्न सकेन । समन्वय समितिलाई संविधानले नै स्थानीय तहहरुमा भइरहेका कामहरुको अनुगमन गर्ने अधिकार दिएको छ । तर यहाँका स्थानीय तहहरुले समन्वय समितिलाई पुरै वेवास्ता गरेको पाइएको छ ।

जिल्ला समन्वय समितिका सदस्य घर्तीले यो बर्ष चाँडै बार्षिक योजनाहरु पठाएर सहयोग गर्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गरिएको बताएका छन् । उनले समीक्षा कार्यक्रममा पनि यसबारे पालिकाका जनप्रतिनिधिहरुलाई बार्षिक योजना पठाउन भनेको बताए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*